काठमाडौँ । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा तनावग्रस्त भएको छ ।
धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा आज वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
जनकपुर घटनाका दोषीलाई कारबाहीको माग गर्दै वीरगञ्जको घण्टाघर, छपकैया लगायतका स्थानमा बिहानैदेखि प्रदर्शन भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड समेत गरेका छन् ।
स्थिती नियन्त्रणबाहिर गएपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
शनिबार हिन्दु युवाहरूले धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा तोडफोड गरि धार्मिक ग्रन्थ जलाएका थिए। यसअघि दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । पछि आक्रोशित हिन्दु युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए । प्रहरीले पछि भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा समेत लिएको थियो ।
प्रहरीको अनुसन्धान जारी रहँदा नै केहि युवाहरुले मस्जिदमा क्षती पुर्याएका थिए । सोही घटनाको प्रतिक्रिया स्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो ।












