२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी



अ+ अ-

दाङ। राष्ट्रिय सभासदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ ।

कांग्रेस र एमालेको राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमतिअनुसार कांग्रेसबाट चन्द्रबहादुर केसी र वासुदेव घिमिरे ‘जङ्गली’ र एमालेबाट रामकुमारी झाँक्रीको उम्मेदवारी परेको हो ।

दाङको लमही नगरपालिका–२ निवासी घिमिरेले अपाङ, केसी अन्य र झाँक्री महिला कोटामा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन मुख्य अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । घिमिरेको प्रस्तावकमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी रहनुभएको छ ।

गुल्मी रेसुङ्गा नगरपालिका–३ निवासी केसीको प्रस्तावकमा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत रहनुभएको छ । त्यसैगरी झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमाकुमारी डिसी रहनुभएको छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तीनजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अपाङ्गता क्लस्टरतर्फ बाँके बैजनाथ–५ निवासी सर्जन विकले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य दीपेन्द्र घर्ती रहनुभएको छ भने समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढा रहनुभएको छ ।

यस्तै, अन्य क्लस्टरतर्फ रूपन्देहीका बृहस्पति अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य यमबहादुर नेपाली रहनुभएको छ भने समर्थकमा प्रदेशसभा सदस्य मीना बुढा रहनुभएको छ ।

महिला क्लस्टरतर्फ पाल्पाकी दुर्गा भण्डारीले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा इन्द्रजित चौधरी रहनुुभएको छ भने समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमप्रसाद शर्मा रहनुभएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ । प्यूठानका बोमबहादुर खत्री र पद्मा पण्डितले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्यूठानको मल्लरानी गाउँपालिका–२ का खत्रीले ‘अन्य’ र प्यूठान नगरपालिका–८ का पद्मा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ । पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा र समर्थकमा स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज राना मगर रहनुभएको छ ।

लुम्बिनी प्रदेशमा एक अपाङ्गता, एक महिला र एक खुला गरी तीन कलस्टरमा मनोनयन दर्ता भएको छ । एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य गोपाल भट्टराई र राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ । उहाँहरूको स्थानमा निर्वाचन हुन लागेको हो ।

भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट निर्वाचित हुनुभएको थियोे । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कूल ३०४ जना मतदाता रहेका छन् । यही मतदातामार्फत राष्ट्रियसभा सदस्यको चयन गरिनेछ । रासस