२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन



Jillian Siegel, Special Envoy to Combat Antisemitism in Australia listens to Prime Minister Anthony Albanese speak to the media during a press conference at Parliament House in Canberra, Australia, Thursday, Jan. 8, 2026. (Lukas Coch/AAP Image via AP)
अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोध (एन्टिसेमिटिज्म) को विस्तृत राष्ट्रिय अनुसन्धानको घोषणा गर्नुभएको छ ।

उक्त घटनामा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री अल्बानिजका अनुसार यो अनुसन्धान शाही आयोगका रूपमा सञ्चालन हुनेछ, जुन अस्ट्रेलियामा सम्भव सबैभन्दा उच्चस्तरीय र स्वतन्त्र सार्वजनिक छानबिन मानिन्छ । बिहीबार क्यानबेरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आयोगको नेतृत्व उच्च अदालतकी पूर्वन्यायाधीश भर्जिनिया बेलले गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले अस्ट्रेलियामा यहुदीविरोधको प्रकृति, यसको व्यापकता र यसलाई बढावा दिने कारकहरूबारे गहिरो अध्ययन गर्नेछ । साथै, बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका पृष्ठभूमि, परिस्थितिहरू र त्यससँग जोडिएका कारणहरूको समेत विस्तृत अनुसन्धान गरिनेछ ।

आयोगले कानून कार्यान्वयन सुधार, सामाजिक एकता मजबुत बनाउने उपाय तथा चरमपन्थको फैलावट रोक्ने रणनीतिबारे सिफारिसहरू पनि प्रस्तुत गर्नेछ । हनुक्का पर्व मनाइरहेका बेला सिड्नीको एक प्रमुख स्थानमा भएको उक्त आक्रमणको एक वर्ष पूरा हुने मिति डिसेम्बर १४ भित्र आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री अल्बानिजले बताउनुभयो । “यो स्पष्ट रूपमा यहुदीविरोधी आतङ्कवादी आक्रमण थियो”, प्रधानमन्त्री अल्बानिजले भन्नुभयो, “यो यहुदी अस्ट्रेलियाली समुदायलाई लक्षित थियो र इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । अस्ट्रेलियाको भूमिमा यस प्रकारको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो ।”

उक्त घटनाका जीवित संदिग्ध २४ वर्षीय नावीद अकरममाथि हत्या र आतङ्कवादसहित दर्जनौँ आपराधिक अभियोग दर्ता गरिएको छ । उनले अहिलेसम्म अभियोग स्वीकार वा अस्वीकारसम्बन्धी निवेदन दिएका छैनन् । घटनाका क्रममा उनका पिता साजिद अकरमलाई प्रहरीले गोली हानेर मारिएको थियो । यसअघि न्यु साउथ वेल्स राज्यस्तरीय अनुसन्धानको सट्टा राष्ट्रिय शाही आयोग गठन गर्न राजनीतिक दलका सांसदहरू, यहुदी समुदायका नेताहरू तथा खेलकुद र सार्वजनिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूले हप्तौँदेखि दबाब दिँदै आएका थिए ।

प्रारम्भमा प्रधानमन्त्री अल्बानिजले यति ठूलो अनुसन्धान लामो समय लाग्ने भन्दै हिचकिचाहट देखाउनुभएको थियो । तर बिहीबार उहाँले दबाबका कारण आफ्नो धारणा बदलेको भन्ने आरोपलाई अस्वीकार गर्नुभयो । “मैले जनताको आवाज सुनेको छु”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा यो सकारात्मक कुरा हो ।” प्रधानमन्त्री अल्बानिजले गोलीकाण्डलगत्तै अस्ट्रेलियाका सुरक्षा र कानून प्रवर्तन निकायहरूले सुरु गरेको अनुसन्धान शाही आयोगकै प्रक्रियामा समेटिने जानकारी दिनुभयो । साथै, उहाँले घटनापछि नयाँ विधायी एजेन्डा अघि बढाउने योजना पनि सार्वजनिक गर्नुभएको छ ।

यसमा अस्ट्रेलियाका पहिले नै कडा बन्दुकसम्बन्धी कानूनहरूलाई थप कडा बनाउने र तथाकथित घृणा फैलाउने अभिव्यक्तिलाई आपराधिक कसुरका रूपमा परिभाषित गर्ने प्रावधान समावेश हुने बताइएको छ, जुन हालका कानूनमा अभियोजनका लागि पर्याप्त कडा नभएको सरकारको ठहर छ ।