१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी नियन्त्रणसम्बन्धी आयोजना लक्ष्य अघि सम्पन्न



अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको किनारमा कटान, बाढीपहिरो नियन्त्रणका लागि सञ्चालित आयोजना लक्ष्य अघि सम्पन्न भएको छ ।

जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले जलजलाको भूगोलमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण गरेको हो । आगामी चैत ३० गतेसम्म ठेक्का सम्झौताको म्याद भए पनि पुसको तेस्रो सातामा काम सम्पन्न भएको कार्यालयका इञ्जिनियर नरजङ गुरुङले बताउनुभयो ।

“आयोजना निर्माणका लागि गत वैशाख १० गते गोपी–शाहना जेभीले रु दुई करोड १० लाखमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “१०२  मिटर दूरीमा तीन दशमलव पाँच मिटर उचाइ र तीन दशमलव पाँच मिटर चौडाइ भएको पक्कीमा कङ्क्रिटको पर्खाल निर्माण भएको हो ।”

कालीगण्डकीमा नदीको सतह घटेपछि गत मङ्सिरदेखि काम थालिएको निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले जानकारी दिनुभयो । पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघि आयोजना सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

आयोजनामार्फत कालीगण्डकीमा बर्खामा आउने बाढी र नदी कटान तथा मल्लाजको भीरबाट खस्ने पहिरो रोकथाम भई बेनीको कालीपुल क्षेत्रको बस्ती संरक्षण हुने बेनी–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । “धेरैजसो आयोजनाहरू ढिलासुस्तीले थला परेको अवस्थामा यहाँको नदी नियन्त्रणसम्बन्धी आयोजनाले सकारात्मक सन्देश प्रवाह गरेको छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको इच्छाशक्ति, चुस्त व्यवस्थापन तथा स्थानीयस्तरमा सहजीकरण, समन्वय हुन सक्यो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने यसबाट पाठ सिक्न सकिन्छ ।”

यस वर्ष बेनीसहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण आयोजना सञ्चालन भएका आयोजना कार्यालयका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती आयोजनाको ठेक्का सम्झौता भई निर्माणका लागि व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । कालीपुल पारीको नदी नियन्त्रण आयोजना सबैभन्दा पहिले सम्पन्न भएको हो । ती आयोजनाको कूल लागत अनुमान रु २० करोड २९ लाख ७६ हजार ८३९ रहेको उहाँले जानकारी दिनुभयो ।