काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताहरुले पार्टी एकताको पक्षमा वकालत गर्नुभएको छ ।
पार्टी निर्णय विपरित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि विभाजनको डिलमा पुगेको काँगेसलाई फुटबाट जोगाउने उद्देश्यका साथ शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता भण्डारीलगायतका नेताहरुले पार्टी एकताको पक्षमा केन्द्रित हुन संस्थापन पक्ष र इतर पक्ष दुवैलाई दवाव दिनुभएको हो । काँग्रेसलाई मुलुकको नेतृत्व गर्ने शक्ति बनाउने गरी फुट हुन नदिनका लागि आफूहरु लागि परेको नेता भण्डारीले बताउनु भयो । उहाँले भोलीबाट शुरु हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रुपमा लिएर पार्टी सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गर्नुभयो । नेताहरुलाई एकतावद्ध हुनका लागि आग्रह गर्न आफूहरु लागि परेको बताउनु भयो ।
नेता भण्डारीले भन्नुभयो, ‘अहिले हामी पार्टी मिलाउने पक्षमा छौ । हामी पार्टीलाई फुट्न नदिने कित्तामा छौ । विशेष महाधिवेशनमा पार्टी सभापतिसहितका नेताहरु सहभागी हुनुपर्छ । मुलुकलाई संकटबाट जोगाउन पनि काँग्रेसलाई फुटबाट जोगाउनु पर्छ ।’
काँग्रेस नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सभापति देउवालाई सम्मानजनकरुपमा विदाई गर्न आफूहरुले चाहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरु पनि सहभागी हुनुहुनेछ । पार्टी सभापति देउवाको सम्मानजनक विदाईको पक्षमा छौ । पार्टी एकताको पक्षमा हामी छौ ।’
नेता शर्माले डा. शेखर कोईराला पनि पार्टी एकताको पक्षमा रहेको बताउनु भयो ।












