काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरु लागिपर्ने बताउनुभएको छ ।
सोमवार बिहान नेता डा. शेखर कोईराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तोबताउनुभएको हो ।
उहाँले पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको बताउनु भयो । महामन्त्री र संस्थापन पक्षधरहरुसँग छलफल गरेर आफूहरु अघि बढ्ने निर्णयमा पुगेको पनि जानकारी दिनुभयो । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरुले मुद्दा उठाउँदै आएको बताउनु भयो । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरुसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौँ । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोईरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नुभएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔँ ।’
उहाँले पार्टीलाई विभाजनको जोखिमबाट बचाउन डा. कोईरालाले दुवै पक्षका नेताहरुसँग संवाद गर्ने पनि बताउनु भयो ।











