काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । सर्वोच्च प्रशासनले उक्त रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । आजै रिट दर्ता गरी तत्काल पेसी तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था अनुसार सोही दिन पेसी तोक्न सम्भव नभएको जानकारी दिएको छ ।
निर्वाचन आयोगको निर्णय कार्यान्वयन भए नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र आगामी निर्वाचनमा सहभागी हुनबाटै वञ्चित हुने अवस्था आउन सक्ने दाबी गर्दै कार्यवाहक सभापति खड्कालगायतका नेताहरूले आजै रिट दर्ता गरी आजै सुनुवाइ गर्न आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले कानुनी प्रक्रियाका कारण तत्काल पेसी तोक्न नसकिने स्पष्ट पारेको छ ।
यसअघि शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
उता गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको दाबी गरेको छ । उक्त महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएको उनीहरूको भनाइ छ ।












