काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा श्रेष्ठ छन् । यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय तय भएको छ । उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिन अगाडि उनले राष्ट्रिय सभा सदस्यको पद त्यागेका हुन् ।
६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो । कार्यकाल समाप्त हुन एक महिना अगावै राजीनामा दिएर उनी प्रत्यक्ष निर्वाचनको मैदानमा होमिन लागेका हुन् ।
श्रेष्ठले यसअघि २०७० सालमा मकवानपुरबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए । २०७४ सालमा उनले गोरखाबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि २०७६ सालमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका श्रेष्ठ उक्त निर्वाचनमा विजयी भएका थिए ।











