२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० क्रिकेटमा भारतद्वारा न्यूजील्यान्ड ४८ रनले पराजित



अ+ अ-

भारतको नागपुरमा गएराति सम्पन्न दिवारात्रि पहिलो टि२० क्रिकेटमा भारत भ्रमणमा रहेको न्यूजील्यान्ड टोली ४८ रनले पराजित भएको छ ।

भारतले प्रस्तुत गरेको २३९ रनको विशाल लक्ष पछ्याएको न्यूजील्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले अभिषेक शर्माको सर्वाधिक ८४ रन तथा रिन्कु सिंहले तिब्र गतिमा बनाएको ४४ रन मद्दतले २० ओभरमा २३९ रनको विशाल स्कोर खडा गरेको थियो । यसबाहेक कप्तान सूर्यकुमार यादवले ३२, हार्दिक पान्ड्याले २५ रन बनाएका थिए ।

जवाफमा ब्याटिङ गर्न उत्रेको न्यूजील्यान्डले पहिलो र दोस्रो ओभरमै २ विकेट गुमाएर दबाबमा परेको थियो । अर्सदिप सिंहको बलमा डेभोन कन्वे ० रनमै आउट भएका थिए भने दोस्रो ओभरमा रचिन रबिन्द्र पान्ड्याको बलमा पभेलियन फर्के ।

तर त्यसपछि न्यूजील्यान्डले केही संयमित ब्याटिङ गरेको थियो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७८ रन बनाए पनि जितको त्यो पर्याप्त भएन । मार्क च्यापम्यानले ३९, ड्यारिल मिचेलले २८ तथा मिचेल सान्टनरले २० रनको योगदान गरेका थिए ।

यी दुई टिमबीचको दोस्रो खेल भोलि शुक्रबार रायपुरमा हुनेछ ।