२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरुमा सरकारले थाल्यो निगरानी



अ+ अ-

काठमाडौँ । छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च शतर्कता अपनाएको छ ।

भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरिएको मन्त्रालयले जनाएको हो ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका  प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य  भइरहेको बताउनु भयो । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिनुभयो । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरिसकेपछि हामीले हाम्रान सम्पूर्ण हवाई एवं थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरुलाई पनि निगरानी गर्न शुरु गरेका छौँ । त्यसैगरी हामीसँग थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरुले संक्रमणको लक्षण भएका बिरामीहरुलाई निगरानीमा राख्ने काम गर्नुभएको छ । त्यस्ता व्यक्तिहरु नेपालभित्र आए भने उनीहरुको उपचार गर्नको लागि हामीले अस्पतालहरु समेत तोकेका छौँ । यो संक्रमण सार्ने माध्यम भनेको चमेरो र सुंगुर हो । कि चाहीँ संक्रमित व्यक्ति हो । त्यसकारण यी तीन चिजहरुलाई मध्यनजगर गरेर आम नेपाली नागरिकलाई पनि निपा भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसहरुलाई केही समय क्वारेन्टाइनमा रहने र उहाँहरुको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ ।’

निपा संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले सबैमा अपिल समेत गरेको छ ।

निपाह भाइरसः अहिलेको अवस्था र शतर्कता

निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो । जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । अहिले यो भाइरस फेरि चर्चामा आएको छ किनकि भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा यसका केसहरू पुष्टि भएका छन् ।

भारतमा वर्तमान प्रकोप

जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुईजना नर्सहरूमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नर्सहरू नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एकजना कोमामा र अर्की भेन्टिलेटरमा छन् । यी केसहरू १९ वर्षपछि पश्चिम बंगालमा निपाहको पुनरागमन हो (पहिले २००१ र २००७ मा केसहरू देखिएका थिए) ।

केही रिपोर्टहरूमा ५ वटासम्म केसहरू उल्लेख गरिएका छन् । करिव १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन र निगरानीमा राखिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरूले राष्ट्रिय संयुक्त प्रकोप प्रतिकार्य टोली परिचालन गरेका छन् । संक्रमणको स्रोत खोजी भइरहेको छ । सम्भवतः काँचो खजुरको रस वा बिरामीको सम्पर्कबाट यो सर्दछ । चमेरोहरूको सर्वेक्षणमा सक्रिय भाइरस नभेटिए पनि एकमा एन्टिबडी फेला परेको छ । जसले विगतको संक्रमण देखाउँछ । भारतमा यसअघि केरलामा नियमित प्रकोपहरू हुँदै आएका छन् । तर यो पटक पश्चिम बंगालमा देखिनुले नयाँ चिन्ता बढाएको छ । अहिलेसम्म लकडाउन घोषणा गरिएको छैन तर निगरानी र परीक्षण बढाइएको छ ।

नेपालमा जोखिम र शतर्कता

नेपालमा अहिलेसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र फ्रुट ब्याटहरूको उपस्थितिले जोखिम बढाएको छ । इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी र अचानक मृत्युका केसहरू रिपोर्ट गर्न निर्देशन दिएको छ ।

पूर्वी सीमा नाका र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य डेस्कहरूलाई अलर्ट गरिएको छ । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय बैठक गरी शतर्कता अपनाउने निर्णय गरेको छ । विज्ञहरूका अनुसार चमेरोबाट सर्नसक्ने यो भाइरस सीमापारि फैलिनसक्छ । त्यसैले रोकथाममा जोड दिइएको छ ।

निपाह भाइरसका लक्षण र रोकथाम

लक्षणहरूः शुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु हुनसक्छ ।
सर्ने तरिकाः चमेरोले टोकेका वा दुषित फलफूल÷खजुरको काँचो रस खाँदा र संक्रमित व्यक्तिको ¥याल, खकार वा शारीरिक सम्पर्कबाट (मानिसबाट मानिसमा) सर्नसक्छ ।

रोकथामका उपायहरूः

काँचो खजुरको रस नपिउनुहोस् ।
चमेरोले टोकेका फलफूल नखानुहोस् ।
संक्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउनुहोस् ।
हात धुने, मास्क लगाउने जस्ता सामान्य सावधानी अपनाउनुहोस् । 

अहिले निपाहको लागि कुनै विशेष औषधि वा खोप उपलब्ध छैन तर सहयोगी उपचारले ज्यान बचाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई प्राथमिकतामा राखेको छ र खोप विकास भइरहेको छ । नेपालमा जोखिम कम भए पनि शतर्क रहनु आवश्यक छ । कुनै लक्षण देखिए तुरुन्तै नजिकको अस्पतालमा सम्पर्क गर्नुहोस् ।