२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न सुझाव



अ+ अ-

काठमाडौँ । नागरिक समाजका संघसंस्थाहरुले संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न राजनितिक दलहरुलाई सुझाव दिएका छन् ।

बुधवार पत्रकार सम्मेलन गरी १६ वटा सामाजिक संघसंस्थाहरुले सामुहिक रुपमा दलहरुले घोषणापत्रमा समेटिनुपर्ने विषयका बारेमा सुझाव दिएका हुन् ।

राजनीतिक दलहरूलाई घोषणापत्रमा नागरिक अधिकार, सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि र समावेशितासँग प्रत्यक्ष सम्बन्धित विषय समावेश गर्न उनीहरुले अपिल गरेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन, २०८२ लाई केवल नियमित निर्वाचन नभई लोकतन्त्रको दिशा तय गर्ने ऐतिहासिक अवसरको रूपमा लिन नागरिक समाजले राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आर्थिक विकासका लागि रोजगारी सिर्जना, नवप्रवद्र्धन, प्रविधिमैत्री उद्योग, स्वदेशी उत्पादन प्रवद्र्धन, कृषि सुधार, साना व्यवसाय र स्थानीय उत्पादनलाई प्रोत्साहन तथा गरिबी निवारणका लागि कार्यान्वयनयोग्य योजना र बजेट सुनिश्चित गर्न आग्रह गरिएको छ ।

संविधान गतिशील दस्तावेज भएकाले लोकतन्त्रको गुणस्तर सुधार, संघीयताको सुदृढीकरण र नागरिक जीवनसँग जोडिएका समस्या समाधानका लागि संशोधन आवश्यक रहेको गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने, राष्ट्रिय सभालाई समावेशी र विज्ञमूलक बनाउने तथा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने विषयमा प्राथमिकता दिन उहाँले माग गर्नुभयो । संविधान जारी भएको एक दशक बितिसक्दा पनि मौलिक हक, सामाजिक–आर्थिक अधिकार र सुशासनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ । वैदेशिक सहयोग र ऋणसम्बन्धी नीतिमा पारदर्शिता अपनाउँदै उत्पादनमूलक र नागरिकको जीवनस्तर उकास्ने क्षेत्रमा मात्र प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । सशर्त ऋण निरुत्साहित गर्दै अनुदानलाई प्राथमिकता दिन तथा विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी पुँजी निर्माणमार्फत आत्मनिर्भरतातर्फ लैजान स्पष्ट नीति आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान स्थिर दस्तावेज नभई, समय, अनुभव र व्यवहार अनुसार परिमार्जन हुनुपर्ने गतिशील दस्तावेज हो । संविधान कार्यान्वयनको करिब एक दशकको अनुभवले केही सरचनागत, संस्थागत तथा शासनसम्बन्धी कमजोरीहरू उजागर गरेको वर्तमान सन्दर्भमा संविधान संशोधन अपरिहार्य भएको छ । राजनीतिक दलहरूले संविधान संशोधनको प्रक्रिया सत्ता स्वार्थ वा तात्कालिक राजनीतिक लाभका लागि नभई लोकतन्त्रको गुणस्तर सुधार, सुशासन, संघीयताको सुदृढीकरण र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका सवाल समाधान गर्ने उद्देश्यले अघि बढाउने प्रतिवद्धता घोषणापत्रमा स्पष्ट राख्न आग्रह गर्दछौँ । यस क्रममा संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने, राष्ट्रिय सभामा पूर्ण समानुपातिक र समावेशी तथा विज्ञहरुको प्रतिनिधिमूलक बनाउने, संसद्लाई नीति निर्माणमा जवाफदेहि र उत्तरदायी बनाउने, संघीयताको कार्यान्वयनको सन्दर्भमा संविधानले तोकेका अधिकारको प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने र अधिकार सम्पन्न बनाउने विषयमा प्राथमिकता दिन हार्दिक अपिल गर्दछौ । यसैगरी लोकतन्त्रलाई केवल शासन प्रणालीको रूपमा नभई नागरिक स्वतन्त्रता, गरिमा, समानता र न्याय सुनिश्चित गर्ने जीवन पद्धति रूपमा अंगिकार गर्न अपिल गर्दछौ । लोकतन्त्रको दीर्घकालीन निरन्तरता, विधिको शासन, नागरिक केन्द्रित शासन प्रणाली, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिक सहभागिता, समावेशीता र आन्तरिक दलगत लोकतन्त्रलाई व्यवहारमा सुनिश्चित गर्न घोषणापत्रमा स्पष्ट प्रतिवद्धता समावेश गर्न हार्दिक आग्रह गर्दछौ ।’

नागरिक समाजले सार्वजनिक सेवालाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राही केन्द्रित बनाउन कर्मचारीतन्त्रमा संरचनात्मक सुधार, युवाको सीप र क्षमताको उपयोग, निजी, सहकारी र सामाजिक क्षेत्रको परिचालनमार्फत रोजगारी सिर्जनामा जोड दिएको छ । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलता नीति, डिजिटल सेवा प्रवाह, नीति तथा बजेट निर्माणमा नागरिक सहभागिता, प्रभावकारी अनुगमन प्रणाली र संघीय संरचनाको पारदर्शिता घोषणापत्रमा समावेश गर्न आग्रह गरिएको छ । शिक्षा र स्वास्थ्यलाई आधारभुत रूपमा निःशुल्क र अनिवार्य बनाउने, सार्वजनिक शिक्षाको गुणस्तर सुधार, सीपमूलक शिक्षा प्रवद्र्धन, ग्रामीण क्षेत्रमा सेवा सुदृढीकरण, बालविवाह र महिलामाथि हिंसा अन्त्य गर्न घोषणापत्रमै स्पष्ट प्रतिवद्धता माग गरिएको छ । निर्वाचन खर्च र सम्पत्ति पारदर्शिताका लागि उम्मेदवारको छुट्टै बैंक खाता, नगद कारोबार निषेध, सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था र राजनीतिक दलका आमसभा तथा चुनावी कार्यक्रमको खर्च विवरण तत्काल सार्वजनिक गर्नुपर्ने अपिल गरिएको छ । घोषणापत्रलाई प्रतिबद्धतामूलक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरेको छ । जल, जमिन, जंगल र वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकुल नीति, विपद् जोखिम न्यूनीकरण र हरित ऊर्जासम्बन्धी ठोस योजना घोषणापत्रमा समावेश गर्नुपर्ने सुझावमा उल्लेख छ ।