२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ १२ मा सभामुख चयन हुने, सभामुख वा उपसभामुखमध्ये एकमा कांग्रेसको दाबी



अ+ अ-

काठमाडौं । लामो समयको रस्साकसीबीच आइतबार संसद्ले नयाँ सभामुख पाउने भएको छ । सोमबार बसेको संसद् बैठकले निर्वाचनको कार्यक्रम सार्वजनिक गरे पनि करिब चार महिनापछि संसद्ले नयाँ सभामुख पाउन लागेको हो । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकले संघीय संसद् सचिवालयलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै सचिवालयले माघ १२ गते आइतबार अपरान्ह ३ बजे सभामुखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

जारी निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गराउनुपर्ने हुन्छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रमअनुसार माघ ७ गते नै सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ । त्यसपछि माघ १२ गते सभामुख पदका लागि निर्वाचन गरिने कार्यक्रम तय गरिएको छ । सोमबार संसद्को पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा दिएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

उनले राजीनामा दिएसँगै प्रतिनिधि सभाका ज्येष्ठ सद्स्य महन्थ ठाकुरले दोस्रो बैठक सञ्चालन गरेका थिए । उनले निर्वाचनको मिति र समय निर्धारण गरेपछि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको संसद सचिवालयले जनाएको छ । ठाकुरले सोमबार नै राष्ट्रपति समक्ष पद तथा गोपीनयताको शपथ ग्रहण गरेका थिए । यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार तय नगरेका कारण रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको थिएन ।

गत पुसको पहिलो साता बसेको प्रतिनिधि सभाको बैठक त्यसयता सूचनाकै भरमा आएको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसद् बैठक प्रभावित हुँदै आएको थियो । नेकपाको सचिवालय बैठकले अग्नि सापकोटालाई उम्मेदबार बनाउने निर्णय आइतबार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको हो । सभामुख र उप–सभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन उप–सभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने थियो ।

सभामुखमा नेकपाले सापकोटालाई उम्मेदबार दिने भए पनि उपसभामुख कसलाई दिने भनेर टुंगो लगाएको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने उपसभामुख आफुलाई दिने भए सभामुखमा उम्मेदबार नउठाउने जनाएको छ । नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दाबी हुने स्पष्ट पारेको छ । कांग्रेसले संवैधानिक प्रावधानअनुसार कुनै एक पदमा आफ्नो दाबेदारी हुने प्रष्ट पारेको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधानअनुसार आफ्नो पार्टी दाबेदारी हुने बताए । संविधानअनुसार फरक दल र लिंगको सभामुख–उपसभामुख हुनुपर्ने उल्लेख छ । ‘पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वभाविक रूपमा नै एक पदमा हाम्रो दाबी हुन्छ । निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन् । प्रक्रियामा सहभागी हुने हो । संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो’, खाँडले भने । तर, नेकपा स्रोतका अनुसार उपसभामुख राष्ट्रिय जनता पार्टीलाई दिने तयारी गरेको छ । त्यसका लागि राजपासँग नेकपाले आन्तरिक छलफल गरिरहेको छ ।

पितृसंस्थासँग लडाइँ जारी

संसद् बैठकबाटै उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले पितृसंस्थाविरुद्धको लडाइँ आफ्नो जारी रहेको बताएकी छिन् । तत्कालीन सभामुख कृष्णबहादुर महराको गल्तीको सजाय आफुले भोग्नुपरेको बताउँदै आएकी तुम्बाहाङ्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी हुन् । राजिनामापछि सोमबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन् ।

‘मैले बाजी मारेँ । म सभामुख हुन्छु र हुन्न दोस्रो पाटो थियो । तर, मैले यो संस्थालाई सफल बनाएँ,’ उनले भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ । परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ । हामी सबै मिलेर राजसंस्था त फालियो । राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’ उनले पितृसत्तासँगको लडाइँ भने नरोकिने बताइन् ।

‘आजको दिनमा म लडाइँ भन्ने शब्द प्रयोग गर्न चाहन्छु । दलसँगको लडाइँमा प्रतिनिधिसभाको संस्थागत मर्यादा र संविधानको रक्षा गर्न सफल भएँ’, तुम्बाहाङ्फेले भनिन्, ‘प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउनुहुन्न भनेर मैले राजीनामा नदिएको हो । मैले एउटा लडाइँ गरेँ । प्रतिनिधिसभा एउटा संवैधानिक अंग हो । यो संस्था आफ्नै क्षेत्राधिकार भएको संस्था हो । यसको मर्यादा बचाउन सकेकोमा मेरो जित भएको छ ।’

उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको उल्लेख गर्दै संवैधानिक निकायलाई खाली बनाउन नहुने भएकाले राजीनामा नदिएको उल्लेख गरिन् । ‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो । कुनै व्यक्ति र संस्था होइन संविधान थियो । संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन । संस्थाले दिएर के हुन्थ्यो रु व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो,’ उनले भनिन् । उनले पत्रकारहरूले आफ्नो बारेमा नकरात्मक समाचार लेखेका बारेमा पनि प्रतिक्रिया दिँदै, ‘सकारात्मकभन्दा नकारात्मक समाचारले मलाई ऊर्जा दियो ।’ सौर्य दैनिकबाट