२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युलेन्स स्कुलमा नयाँ नेतृत्व, विद्यालय पूर्ण क्षमतामा सञ्चालनको तयारी



अ+ अ-

काठमाडौं: जेन जी आन्दोलनका क्रममा ध्वस्त बनाइएका काठमाडौं र ललितपुरका युलेन्स स्कुलहरुको पुनर्निर्माण लगभग सकिएको र नयाँ नेतृत्व सहित विद्यालय सञ्चालनमा आउन लागेको छ ।

विद्यालयका तर्फबाट जारी एक विज्ञप्तिमा युलेन्स स्कुल काठमाडौंमा भौतिक पूर्वाधारको पुर्ननिर्माण पूर्णरुपमा सम्पन्न भइसकेको र विद्यालय भौतिकरुपमै पूर्ण क्षमतामा सञ्चालनमा फर्किएको उल्लेख छ ।

यस्तै, युलेन्स स्कुल ललितपुरमा भौतिक पुनर्निर्माणमा आंशिक तवरमा भएपनि सम्पन्न भई केही भवनहरु भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने अवस्थामा आएका छन् भने केही भवनहरुको पुनर्निर्माण प्रक्रिया निरन्तर जारी छ, विज्ञप्तिमा भनिएको छ ।

जेन जी विध्वंसमा खरानी बनाइएका सवारी साधनलाई वातावरण मैत्री विद्युतीय बसहरुद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरुको परिवहन सुविधालाई व्यवस्थित गर्न प्रक्रिया अगाडि बढाइएको पनि युलेन्स फाउन्डेसनले जनाएको छ ।

युलेन्स एजुकेशन फाउन्डेशनको ‘बोर्ड अफ ट्रष्टिज’को नवनियुक्त सदस्यहरुमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र वैंकमा तीन दशकभन्दा बढी अनुभव संगाल्नुभएका वरिष्ठ वैंकिङ विज्ञ प्रद्युम्न कुमार खनाल र हाल युलेन्स स्कुलका अभिभावकसमेत रहनुभएका डा. मनिष थापा रहनुभएको छ ।

फाउन्डेसनको विज्ञप्ति

युलेन्स एजुकेशन फाउन्डेशन कम्पनी रजिष्ट्रारको कार्यालयमा नाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता भएको संस्था हो । दक्षिण एशियाकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान बनाउने सोचका साथ सन् २००६ मा स्थापित युलेन्स एजुकेशन फाउण्डेशनले युलेन्स स्कुल ललितपुर (K-12 र IBDP), युलेन्स स्कुल काठमाडौं ( K-10), युलेन्स लिप (Ullens LEAP), युलेन्स कलेज र युलेन्स शिक्षक तालिम केन्द्र (UCED) जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै अईरहेको छ ।

विध्वंसदेखि पुर्ननिर्माणसम्म

भाद्र २४ गते मञ्चित आगजनी, तोडफोड र लुटपाटमा युलेन्स एजुकेशन फाउन्डेशनका खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर ध्वस्त बनाइँदा १ अर्ब २५ करोड रुपैया“ बराबरको भौतिक एवं अपरिमेय मानसिक र सामाजिक प्रतिष्ठाको क्षति गरेको थियो ।

युलेन्स एजुकेशन फाउन्डेशनले विद्यालयमाथि गरिएको विध्वंसपछि विज्ञप्ति जारी गर्दै आफ्नो भावना सार्वजनिक गरेको थियो –‘स्कुलका भवनहरू केवल भौतिक संरचनाहरू मात्रै थिएनन्, भाद्र २४ मा युलेन्सको विद्यालय भवनमा होइन, युलेन्सको विस्तारित परिवारको आस्था, समर्पण र जीवनमा आगो दन्काइयो र खरानी बनाइयो ।’

फाउण्डेशन अन्र्तगतका संरचनाहरु हाम्रा लागि भौतिक संरचनाहरु मात्रै थिएनन् । हाम्रा ज्ञानकेन्द्रहरु फगत भौतिक कक्षाकोठा र कार्यालय कक्षहरु मात्रै थिएनन् । जसरी उभ्याइएको थियो युलेन्स एजुकेशन फाउण्डेशन अन्र्तगतका तमाम विद्यालय र शैक्षिक इकाईहरु, ती हाम्रा समर्पण, विश्वास, आस्था र सपनाका पुञ्जहरु थिए ।

शून्यबाट आरम्भ गरेर एउटा भव्य विद्यालयसम्मको यात्रा सामान्य प्रयासले मात्रै सम्भव थिएन । व्यहोरेका अनेकन उतारचढाव र यत्नहरुको समुच्च अनुभव संस्थागत हुँदै गर्दा विद्यालयलाई आगजनी र बितण्डाको शिकार बनाएर ऋणात्मक अवस्थामा पुर्‍याउने जुन चेष्टा गरियो – विद्यालयको पुर्ननिर्माण र पुर्नसंरचना नगर्दा त्यस्तो चेष्टाले सफलताको खुसी मनाउने अवस्था बन्थ्यो । सिर्जनशील र सभ्य समाजका लागि उत्कृष्ट योगदानको उद्धेश्यले स्थापित फाउन्डेशनले विध्वंस र वर्वादीलाई विम्वको रुपमा यथाहालतमा रहन दिने बिकल्पलाई आत्मसात गर्न मिल्दैनथ्यो – गरेन ।

देशबाट अनिश्चय, असुरक्षा र वैमनस्यको तुवालो राम्ररी फाटिनसकेपनि खरानीको धुलोमा परिणत गराइएको खण्डहर पन्छाउँदै विध्वंसको पाँच महिनामा युलेन्स एजुकेशन फाउन्डेशन अन्र्तगतका विद्यालयहरु पुर्ननिर्माणको तीब्रतर गति समात्दै आज भौतिक रुपमा पुन: खडा भएको विवरण सार्वजनिक गर्न पाउँदा हामीमा असीम खुसी, उत्साह र भावुकता एकसाथ सम्प्रेषित भइरहेको छ । भौतिकरुपमा आफ्ना विद्यार्थीहरुलाई विद्यालयको आफ्नै कक्षाकोठाहरुमा पुन: स्वागत गर्न नयाँ स्वरुपमा उभिएका हाम्रा यी गौरवशाली धरोहरहरुको विवरण सार्वजनिक गरिरहँदा हामीलाई गहिरो पीडापछिको उच्च खुसीले उद्वेलित गराएको छ ।

पुर्ननिर्माणको यही प्रक्रियामा फाउन्डेशनद्वारा संचालित युलेन्स स्कुल काठमाडौंमा भौतिक पूर्वाधारको पूर्णरुपमा पुर्ननिर्माण सम्पन्न भइसकेको छ र विद्यालय भौतिकरुपमै पूर्ण क्षमतामा सञ्चालनमा फर्किएको छ । युलेन्स स्कुल ललितपुरमा भौतिक पुर्ननिर्माण आशिंक तवरमा भएपनि सम्पन्न भई केही भवनहरु भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने अवस्थामा आएका छन् भने केही भवनहरुको पुर्ननिर्माण प्रक्रिया निरन्तर जारी छ । युलेन्स कलेज, ग्याप इयर कार्यक्रम र शिक्षक तालिम केन्द्रजस्ता अन्य कार्यक्रमहरु पनि भौतिकरुपमा पुन: सञ्चालनको प्रतिक्षामा छन् ।

विध्वंसमा खरानी बनाइएका हाम्रा सवारी साधनहरुलाई वातावरण मैत्री विद्युत्तीय बसहरुद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरुको परिवहन सुविधालाई व्यवस्थित गर्न प्रक्रिया अगाडि बढाइएको छ ।

नेतृत्वमा पुर्नसंरचना

युलेन्स एजुकेशन फाउन्डेशनले केबल भौतिक संरचनाहरुको मात्रै पुर्नसंरचना गरेको छैन, बरु विद्यालयको तमाम शैक्षिक वातावरण र विद्यार्थीहरुको सिकाई प्रक्रियालाई थप व्यवस्थित, सुदृढ र सिर्जनशील बनाउन संस्थाको नीतिगत नेतृत्वमा समेत पुर्नसंरचना गरेको छ ।

परिवर्तित परिवेशमा संस्थालाई थप उर्जा र व्यावसायिकताका साथ संचालन गनुपर्ने भएकाले युलेन्स एजुकेशन फाउन्डेशन (यु.ई.एफ.) ले फाउन्डेशनको बोर्डको पुर्नसंरचना तथा युलेन्स स्कुलको शैक्षिक नेतृत्व र विद्यालय व्यवस्थापन समिति (SMC) को नेतृत्वमा परिवर्तन गरेको छ ।

यस कदमले संस्थाको सुशासन, शैक्षिक उत्कृष्टता र दीर्घकालीन संस्थागत विकासप्रति विद्यालयको सार्वजनिक प्रतिवद्धतालाई थप पारदर्शी र बलियो बनाउने विश्वास गरिएको छ । फाउन्डेशनको नेतृत्वले फाउन्डेशनको सम्पूर्ण सदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा हालै आयोजित ‘टाउन हल’ (भेला) मा उपरोक्त निणर्यहरु प्रस्तुत गर्दै निणयार्थ पेश गरेको थियो । टाउन हलले उक्त निणर्यलाई पारित गर्दै औपचारिक अनुमोदनका लागि बोलाएको साधारणसभाले टाउन हलको निणर्यलाई औपचारिक तवरले अनुमोदन गरेपछि निणर्यहरु कार्यान्वयनमा आएको छ ।

टाउन हलमा गरिएको निणर्य अनुसार युलेन्स एजुकेशन फाउन्डेशनको ‘बोर्ड अफ ट्रष्टिज’को नवनियुक्त सदस्यहरुमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र वैंकमा तीन दशकभन्दा बढी अनुभव संगाल्नुभएका वरिष्ठ वैंकिङ विज्ञ प्रद्युम्न कुमार खनाल र हाल युलेन्स स्कुलका अभिभावकसमेत रहनुभएका शैक्षिक तथा सुरक्षा विज्ञ डा. मनिष थापा रहनुभएको छ । नयाँ बोर्ड सदस्यहरुले पहिलोपटक कर्मचारीहरुसँग साक्षात्का गर्दै यु.ई..एफ.को लक्ष्य र मूल्य–मान्यताप्रति आफ्नो सामुहिक प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

टाउन हलमार्फत् संस्थाले परिवर्तित सन्दर्भमा आफुलाई पहिलेभन्दा बलियोसँग उभ्याउने संकल्प अघि बढाएको छ । यही सन्दर्भमा संस्थाको सुशासन र शैक्षिक नेतृत्वसमेत सुदृढ बनाउने कार्ययोजना अन्र्तगत ललितपुरस्थित युलेन्स स्कुलको नेतृत्वमा एकता राणा प्रधानाध्यापक (प्रिन्सिपल) मा नियुक्त हुनुभएको छ ।

बीस बर्षअघि युलेन्स स्कुल ललितपुरमा बिषय शिक्षकको रुपमा प्रवेश गर्नुभएको राणाले बिगतका दिनहरुमा विद्यालयको शिक्षक, विद्यालय एकँईको संयोजक र विद्यालयको उप–प्रधानाध्यापकका रुपमा शैक्षिक नेतृत्व र व्यवस्थापनको विशिष्ट अनुभव हासिल गर्नुभएको छ । साथै उहाँको ‘युलेन्सको शैक्षिक पद्दति र दर्शन’मा गहिरो विज्ञता छ । बैंक स्ट्रीट कलेज अफ एजुकेशनबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गर्नुभएकी राणा ‘प्रगतिशील शिक्षाशास्त्र (Progressive Pedagogy)’ मा आफ्नो दख्खलका लागि परिचित हुनुहुन्छ ।

पूर्व प्रिन्सिपल श्री मेदिन बहादुर लामिछाने अब युलेन्स एजुकेशन फाउन्डेशनको प्रमुख प्राज्ञिक अधिकारी (Chief Academic Officer) को भूमिकामा पूर्णरुपमा क्रियाशील हुनुहुनेछ, जहाँ उहाँले फाउन्डेशन अन्र्तगतका शैक्षिक कार्यक्रमहरुलाई सहयोग पुर्‍याउनुहुनेछ ।

टाउन हल भेलामा बोल्दै युलेन्स स्कुलका नयाँ प्रिन्सिपल एकता राणाले विद्यालयको सहयोगात्मक संस्कृतिको सराहना गर्दै यसको निरन्तरता र थप समृद्ध बनाउने कार्ययोजनाप्रति आफ्नो प्रतिवद्धता ब्यक्त गर्नुभयो । यस्तै, पूर्व प्रिन्सिपल मेदिन बहादुर लामिछानेले विद्यालयसँगको आफ्नो लामो आवद्धतालाई स्मरण गर्दै अबका दिनमा पाठ्यक्रम विकास, शिक्षण अभ्यास र शिक्षकहरुको व्यावसायिक विकासमा केन्द्रित रहेर फाउन्डेशनले तय गरेको थप सुदृढ, आत्मविश्वासी र सिर्जनात्मक शिक्षालय संचालनमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेलाले श्री लामिछानेलाई उहाँले दुई दशकसम्म प्रिन्सिपलका रुपमा प्रदर्शन गर्नुभएको कुशल नेतृत्वका लागि धन्यवाद दिँदै प्रमुख शैक्षिक अधिकारीका रुपमा उहाँको थप योगदानले फाउन्डेशन लाभान्वित हुने अपेक्षा गरेको छ ।

फाउन्डेशनका संस्थापक अध्यक्ष सोम पनेरुले लामिछानेको प्रगतिशील शिक्षाशास्त्र र शैक्षिक नेतृत्वको अनुभवले संस्थाको शैक्षिक दिशालाई मजबुत बनाउने र प्रिन्सिपल राणाको लामो सेवा अनुभव र नेतृत्वले युलेन्स स्कुल ललितपुरलाई अर्को चरणमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थापन समितिको नेतृत्व परिवर्तन

नियमित सुशासन, रुपान्तरण र पुर्नसंरचना प्रक्रिया अन्र्तगत पूर्व अध्यक्ष डा. आरजु राणा देउवाको लामो समयको कार्यकाल पूरा भएसँगै युलेन्स एजुकेशन फाउन्डेशन अन्र्तगतका विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्रा.डा. भोला थापाले सम्हाल्नुभएको छ ।

भेलालाई सम्वोधन गर्दै फाउन्डेशनका बोर्ड अफ ट्रष्टीजसमेत रहनुभएका  व्यवस्थापन समितिका नवअध्यक्ष प्रा.डा थापाले युलेन्स एजुकेशन फाउन्डेशन र काठमाडौं विश्वविद्यालयबीच विगतमा भएका सहकार्यहरुको चर्चा गर्दै विद्यालयको शैक्षिक र संस्थागत जग बलियो बनाउन सरोकारवालाहरुको सहयोग र सामुहिक प्रयासको महत्वमा जोड दिनुभयो ।

टाउन हलको मिटिङपश्चात आयोजित साधारणसभामा उपस्थित सदस्यहरुले फाउन्डेशनका उपलब्धिहरुको समीक्षा गर्दै आगामी बर्षका प्राथमिकता, कार्यक्रम र आवश्यक दिशानिर्देशनहरुबारे छलफल गरेका छन् । भौतिक पुर्ननिर्माण र नेतृत्व परिवर्तका यी कार्यहरुले पारदर्शिता, सुदृढ सुशासन र शैक्षिक उत्कृष्टताप्रति युलेन्स एजुकेशन फाउण्डेशनको निरन्तर लगावलाई अभिव्यक्त गर्नेमा साधारणसभाले एकतावद्धरुपमा विश्वास प्रकट गरेको छ ।

युलेन्स एजुकेशन फाउन्डेशन विध्वंसपश्चात संस्थाले ब्यहोरेको अकल्पनीय दुखद र त्रासदीपूर्ण समयमा हामीलाई हौसला, ढाडस र प्रेरणा प्रदान गर्दै फेरि उठ्न उत्प्रेरित गर्नुहुने हाम्रा शुभचिन्तक, अभिभावक वर्ग, नागरिक समाज, संचारमाध्यम, संचारकर्मी, वौद्धिक वर्ग र विशेषगरि ललितपुर महानगरपालिकासहित सरोकारवाला निकायमा हार्दिक आभार समर्पण गर्न चाहन्छ । यही अवसरमा हामी थप आत्मवल, सुदृढ कार्ययोजना र अझै उन्नत शैक्षिक कार्यक्रमहरुसहित रुपान्तरित र अझै सक्षम युलेन्स फाउन्डेशन संचालनको प्रण दोहोर्‍याउन चाहन्छौं । युलेन्स विश्वविद्यालय संचालन उन्मुख हाम्रो लक्ष्य अझै सशक्त तवरमा अघि बढिरहेको जानकारी निवेदन गर्न चाहन्छौं ।

सोम पनेरु
संस्थापक अध्यक्ष
युलेन्स एजुकेशन फाउन्डेशन
युलेन्स स्कुल ललितपुर ।। युलेन्स स्कुल काठमाडौं ।। युलेन्स आउटडोर लर्निङ सेन्टर नाला, काभ्रे ।। युलेन्स कलेज ललितपुर ।। युलेन्स एजुकेटर डेवलपमेन्ट सेन्टर ।। युलेन्स लिप– ग्याप इअर




भर्खरै