काठमाडौं: ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर सुवास विष्ट विरुद्ध १ करोड ९७ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा इन्जिनियर विष्टले पदीय मर्यादा विपरीतका कार्यहरु गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उल्लेख छ ।
निजको सार्वजनिक सेवा प्रवेश पूर्वको एकासगोल परिवारको बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात, निजको पारिश्रमिक, भत्ताको बचत रकम, श्रीमतीको तलब वचत रकम, ऋण सापटी रकम र शेयर बिक्रीबाट प्राप्त रकम गरी जम्मा रू एक करोड २७ लाख आय आर्जन गरेको अख्तियारको भनाई छ ।
त्यसैगरी, सम्पत्ती जाँच अवधिमा व्ययतर्फ जग्गा खरिद, घर निर्माण, शेयर खरिद भएको खर्च, निजको छोराको अध्ययन खर्च, बैंक तथा वित्तीय संस्था एवं सहकारीबाट लिएको ऋण सापटीको साँवा र व्याज, विभिन्न कम्पनीमा पुँजी लगानी, बिमा प्रिमियम भुक्तानी वापत र निज तथा एकासगोल परिवारका सदस्यहरूको नाममा बैंक तथा वित्तीय संस्थाहरूको खातामा भएको मौज्दात रकम अख्तियारले छानबिन गरेको थियो ।
उक्त छानबिनबाट तीन करोड २४ लाख ८४ हजार व्यय (खर्च तथा लगानी समेत) गरेको देखिएकोले इन्जिनियर बिष्टको जाँच अवधिको समग्र आयबाट सोही जाँच अवधिको कूल व्यय (खर्च तथा लगानी समेत) घटाउँदा १ करोड ९७ लाख बैधानिक आयभन्दा कूल व्यय आधिक हुन गएको देखिएको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य निजले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको छ ।












