इङलिस प्रिमियर लिगको महत्वपूर्ण क्लब टोटेनह्याम हटस्परले मुख्य प्रशिक्षक थोमस फ्र्याङ्कलाई पदमुक्त गरेको पुष्टि गरेको छ।
५२ वर्षीय डेनिस प्रशिक्षक फ्र्याङ्क गत वर्ष ब्रेन्टफोर्डमा सात वर्षको सफल कार्यकालपछि स्पर्समा आबद्ध भएका थिए।
फ्र्याङ्कको नेतृत्वमा स्पर्सले राम्रो सुरुआत गरेको थियो । उनले प्रिमियर लिगका पहिलो चारमध्ये तीन खेल जितेका थिए भने यूईएफए सुपर कपमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धात्मक खेलका बाबजुद हार बेहोरेका थिए।
तर त्यसपछि टोलीको प्रदर्शन खस्कँदै गयो। मंगलबार न्यूक्यासल युनाइटेडसँग घरेलु मैदानमा २–१ ले पराजित भएपछि फ्र्याङ्कको स्पर्समा अन्तिम खेल सावित भयो। उक्त नतिजापछि स्पर्स तालिकाको १६औँ स्थानमा छ र रेलिगेशन क्षेत्रभन्दा पाँच अंकले मात्र अगाडि रहेको छ।
फ्र्याङ्कले ३८ खेलमा १३ जित, ११ बराबरी र १४ हारको नतिजासहित क्लब छाडेका छन्।
क्लबले के भन्यो ?
स्पर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्लबले टोलीको मुख्य प्रशिक्षक पदमा परिवर्तन गर्ने निर्णय गरेको छ र थोमस फ्र्याङ्क आजैबाट बिदा हुनेछन्। थोमसलाई जुन २०२५ मा नियुक्त गरिएको थियो र हामीले उनलाई भविष्य निर्माणका लागि आवश्यक समय र सहयोग दिने प्रयास गरेका थियौँ। तर नतिजा र प्रदर्शनका आधारमा बोर्डले सिजनको यस चरणमा परिवर्तन आवश्यक ठानेको छ।”
बोर्डले मुख्य प्रशिक्षकमा कसलाई ल्याउँदै छ भन्ने केही बताएको छैन । तर चर्चामा भने स्पर्सकै पूर्व प्रशिक्षक मौरिसियो पोचेटिनो, रोबर्टो डी जार्बी, रोब्बी किन, जाभी रहेका छन् ।
किन बर्खास्त भए फ्र्याङ्क ?
मध्यसातामा न्यूक्यासलसँगको हारपछि सन् २०२६ मा स्पर्सले प्रिमियर लिगमा लगातार आठ खेलसम्म जित हात पार्न सकेको छैन।
यस वर्ष २०२६ मा स्पर्सले चार अंक मात्र जोडेको छ, जुन १९औँ स्थानको बर्न्ली (तीन अंक) भन्दा मात्र राम्रो हो।
यद्यपि निराशाजनक नतिजा वर्षको अन्त्यअघि नै सुरु भइसकेको थियो। स्पर्सले पछिल्ला १७ लिग खेलमध्ये दुई मात्र जितेको छ। २८ डिसेम्बर २०२५ मा क्रिस्टल प्यालेसविरुद्धको १–० को जित नै उनीहरूको पछिल्लो लिग विजय थियो ।












