१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता :लुम्बिनी र मधेस प्रदेश भिड्दै



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेस प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ ।

गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज हुने फाइनल खेलका लागि लुम्बिनी र मधेस प्रदेशले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा आयोजक गैँडाकोट मेयर्स ११ लाई पाखा लगाउँदै लुम्बिनी प्रदेश र सुदूरपश्चिमलाई पाखा लगाउँदै मधेस प्रदेश उपाधि भिडन्तका लागि आमनेसामने हुने भएका हुन् ।

पहिलो सेमिफाइनल खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८१ रन बनायो । लुम्बिनीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गैँडाकोट मेयर्स ११ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनमात्र बनाउन सफल भयो ।

लुम्बिनीको जितका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ५० बलमा छ छक्का र पाँच चौकाको मद्दतले ७४ रनको योगफल तयार पारे । त्यस्तै प्रज्वल थापाले १९ बलमा तीन छक्का र दुई चौकासहित ३८, सम्राट भुसालले २३ बलमा एक छक्का र तीन चौकासहित २७ तथा दिपेश रोकाले १० बलमा एक छक्का र एक चौकासहित १५ रनको योगदान दिँदा अन्य ब्याटरहरूले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ मेयर्स ११ का बलर चन्द्रकान्त पौडेलले चार ओभरमा २० रन खर्चिदै लुम्बिनीको चार विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै, गौतम केसीले तीन तथा अपराजित पौडेलले एक विकेट लिए । गैँडाकोट मेयर्स ११ का लागि दीपक बोहोराले ४० बलमा एक छक्का र चार चौकासहित ४४ रनको योगफल तयार पारे । त्यस्तै हरि चौहानले ३४ बलमा तीन छक्का र चार चौकासहित ४२, कप्तान गौरव विश्वकर्माले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्को योगफल तयार पार्न सकेनन् । मेयर्स ११ लाई पाखा लगाउने क्रममा लुम्बिनीका सलाउद्दिन खानले पाँच, वीरबहादुर घर्तीमगरले चार तथा कृष्ण कार्कीले एक विकेट लिए ।

सोमबार नै भएको अर्को सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशका विरुद्ध मधेस प्रदेशले तीन विकेटले जित निकाल्दै फाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको १५३ रनको चुनौती मधेसले १८.२ ओभर खेल्दै सात विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

मधेस प्रदेशको जितका लागि पवन सर्राफले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ३४ बलमा पाँच छक्का र एक चौकाको मद्दतले ५१ रनको योगफल तयार पारे । त्यस्तै मयन यादवले २७ बलमा तीन छक्का र दुई चौकासहित ३८, कप्तान अनिलकुमार शाहले १४ बलमा तीन छक्का र तीन चौकासहित ३३, अविशेख तिवारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरहरूले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐरले तीन एवं मिलन बोहोरा, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले एक–एक विकेट लिएका थिए ।

सुरुआती ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशका कप्तान किरन ठगुन्नाले २३ बलमा एक छक्का र चार चौकासहित ३४ रनको योगफल तयार पारे । त्यस्तै, रोशन साउदले २५ बलमा दुई छक्का र दुई चौकासहित २९, दीपक टमटाले २४ बलमा दुई छक्का र दुई चौकासहित २७, टेक रावतले १० बलमा एक छक्का र दुई चौकासहित २० रनको योगफल तयार पारे । लोकेन्द्र चन्द र कैलाश ऐरले १०–१० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् । बलिङतर्फ रञ्जित कुमारले चार तथा अविशेख तिवारीले तीन विकेट लिए ।

जिल्लाकै ठूलो धनराशिको पाँचौँ गैँडाकोट टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सातवटा तथा आयोजक एक गरी आठ टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् ।रासस