पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीको अवसर पारेर तीनदिने कार्यक्रम सुरु गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा पृथ्वी जयन्ती त्रिदिवसीय कार्यक्रम एकसाथ मनाउन लागिएको हो । प्रज्ञा प्रतिष्ठानमा २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको तीन दिने कार्यक्रमको घोषणा गरिएको हो । दिवसको सन्दर्भमा शुक्रबार यहाँ ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
यसैगरी, शनिबार संयुक्तरूपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनीको उद्घाटन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरे । प्रदर्शनी उद्घाटन गर्दै मन्त्री मानन्धरले कलाकारले कलामार्फत पृथ्वीनारायण शाहलाई सम्झेर राम्रो काम गरेको बताए । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य लालकाजी लामाले पृथ्वीजयन्तीको सन्दर्भ पारेर विभिन्न नेपाली शैलीका कला प्रदर्शनी गरिएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाल राज्यलाई बिस्तार गर्ने कार्यमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको बताए । उनले कलामार्फत प्रतिष्ठानले राजा पृथ्वीनारायणको स्मरण गरेको विचार व्यक्त गरे । आइतबार पृथ्वी जयन्तीको दिनमा शोभायात्रासहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको आयोजकले जनाएको छ । आइतबार साँझ नै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिएको जनाइएको छ ।
पहिलो दिनको कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहले सानो राज्यबाट अथक प्रयास गरेर हामीलाई एकताको सूत्रमा बाँध्ने काम गर्नुभएको भन्दै उनको योगदानको प्रशंसा गरे । जातजाति र सांस्कृतिक वातावरण बनाउँदै नयाँ सेना निर्माण गरी राज्य विस्तार गर्नुले उनको दूरदर्शिता प्रष्ट हुने उल्लेख गर्दै प्रश्रितले कसैले बुद्धि, कसैले युद्ध त कसैले धर्ममार्फत मुलुक यहाँसम्म ल्याइपुर्याएको जिकिर गरे ।
कार्यक्रममा ‘पुथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दैै प्राध्यापक डा. त्रिरत्न मानन्धरले आफ्नो अन्तिम समयमा पुथ्वीनारायण शाहले ‘यो राज्य दुई ढुंगाबीचको तरुल जस्तो रहेछ‘’ भनेर छिमेकी दुवै देशसँगको सम्बन्ध राम्रो बनाउन खोजेको र आफ्नो भूराजनीतिको अवस्थाबारे स्पष्ट बोलेको तथ्यबाट प्रष्ट हुने जिकिर गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले राजाहरू सहअस्तित्व कायम गर्न जनताको सेतु भएको स्मरण गर्दै राष्ट्र एकीकरणको अभियानमा पृथ्वीनारायण शाहलाई जनताको भावना बुझ्ने राजाको रूपमा स्मरण गरे ।
उनले कसैलाई पनि शत्रु नठान्ने स्वभाव भएका राज्य एकीकरणका नायक गोरखाका राजा पृथ्वीनारायण शाहलाई बडामहाराजा भन्न हिच्किचाउन नहुने उल्लेख गरे । प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले पृथ्वीनारायण शाहलाई जनमत बुझेर निर्णय गर्ने दूरदर्र्शी राजाको रूपमा चित्रण गरे । सौर्य दैनिकबाट












