२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश–३ को नाम र राजधानी आज टुङ्गो लाग्दै, वागमती र हेटौंडाको पक्षमा नेकपा र कांग्रेसको ह्विप



अ+ अ-

हेटौडा । प्रदेश– ३ को नाम र स्थायी केन्द्र आज टुंगो लाग्दैछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्ष दल नेपाली कांग्रेसले एउटै प्रस्ताव दर्ता गरेका हुन् । देशको संघीय राजधानी काठमाडौं पनि भएको प्रदेश–३ को नाम ‘वागमती’ र प्रादेशिक राजधानी मकवानपुरको ‘हेटौंडा’ रहनेगरी प्रदेशसभाका सांसद्हरूले प्रस्ताव शनिबार दर्ता गराएका छन् । स्थायी राजधानी हेटौंडालाई कायम गर्ने प्रस्तावकमा प्रदेश–३ का मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता डोरमणि पौडेल छन् भने कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ छन् ।

वाग्मती नाम राख्नु पर्नेमा कांग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक, समर्थकहरूमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी माझी, राप्रपा (संयुक्त) गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्य छन् । केन्द्रका विषयमा दुई वटा प्रस्ताव परेका छन् । विवेकशील साझाका सांसद्ले काभ्रेको धुलिखेललाई प्रदेश–३ को स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गराएका छन् । विवेकशील साझाका सांसद् रमेश पौडेलले दर्ता गराएको प्रस्तावमा सांसद् शोभा शाक्य र विराजभक्त महर्जन समर्थक रहेका छन् ।

नाम भने एउटामात्र दर्ता भएको छ । स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले प्रदेशको नाममा छुट्टै प्रस्ताव दर्ता गर्न चाहेपनि समर्थक नभेटाउँदा दर्ता हुनै सकेन । उनले प्रदेशको नाम नेवाः तामसालिङ प्रस्ताव गर्दै फारम पनि भरेका थिए । तर, नियमावलीअनुसार दुई जना समर्थक आवश्यक पर्दछ । प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय गरिने बताए । उनले प्रदेशसभाको आइतबार बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट गरिने जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश–३ को राजधानी हेटौंडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासाबारेमा जवाफ दिने कार्यसूची रहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । शुक्रबार सत्तारुढ नेकपाको संसदीय दलभित्र झन्डै ४० सांसद्ले प्रादेशिक राजधानीको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । तर, भोलिपल्ट प्रदेशसभाको बैठकमा नेकपाले औपचारिकरूपमा उक्त प्रस्ताव दर्ता गरेको हो । नेकपा र कांग्रेसले ह्विप जारी गरिसकेका छन् ।

नेकपाबाट प्रदेशसभामा काभ्रेबाट निर्वाचित चन्द्र लामाले पार्टी नेतृत्वले प्रस्ताव गरेको नाम र राजधानीप्रति आफ्नो गम्भीर असहमति व्यक्त गरेका छन् । प्रदेशको नाम वागमती र राजधानी हेटौंडा तोक्ने सिफारिसप्रति नेकपाका झन्डै आधा सांसद् असन्तुष्ट रहेको उनले बताए । साझा पार्टीले नाम वागमती राख्ने विषयमा आफ्नो सहमति रहे पनि राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव गरेको हो । यी दुवै प्रस्तावबारे शनिबार नै छलफल भएको र आइतबार मतदानबाट निर्णय हुनेछ ।

संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय हुनुपर्नेछ । प्रदेशसभामा कुल ११० सदस्यमध्ये नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदुर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र छन् । दुई तिहाई मत पुग्न ७२ भन्दा बढी मत आवश्यक पर्दछ । सातवटा प्रदेशमध्ये अहिलेसम्म कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशले मात्र आफ्नो नाम र राजधानीको टुंगो लगाएका छन् । सौर्य दैनिकबाट