२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावको मुखैमा पूर्वराजाले किन उठाए यस्तो प्रश्न ?



ज्ञानेन्द्र शाह/ फाइल फोटो
अ+ अ-

काठमाडौँ । देशमा निर्वाचनको व्यापक तयारी छ । उम्मेदवारहरु मतदाताका घरघरमा पुगेका छन् भने निर्वाचन आयोगले जिल्ला जिल्लामा मतपत्र ओसारिरहेको छ । निर्वाचन प्रहरीले ड्युटी सम्हालीसकेका छन् र अब जिल्ला मतदान कार्यालयले मतदान केन्द्रहरुको रेकी सुरु गर्ने बेला हुन थालेको छ । समग्रमा भन्दा अब मतपेटिकामा मत खसाल्न मात्र बाँकी छ ।

तर, यस्तो बेलामा आज पूर्वराजा ज्ञानेन्द्र शाहको यस्तो विज्ञप्ति आएको छकि जसले सबैलाई एक पटक सोच्न बाध्य बनाएको छ । देशले निर्वाचनको अन्तिम तयारी गरिरहेको र अब मत खसाल्न दखुई सातामात्र बाँकी रहेको अवस्थामा पूर्वराजाले भने निर्वाचन अगावै देशको समस्या समाधानका लागि सबैलाई आह्वान गरेका छन् ।

यो पनि पढ्नुहोस- पहिला राष्ट्रिय सहमति, अनिमात्र निर्वाचन

उनले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा समेत आज व्यक्त गरेका छन् । ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले यतिखेर मुलुकका लागि आमनिर्वाचन भन्दा पनि देशको समस्या ठूलो रहेको धारणा राखेका हुन् ।

उनले निर्वाचनलाई गलत भनेका त छैनन्, तर पनि देशमा देखिएका यावत समस्याको समाधान विनानै आयोजना भएको निर्वाचनको अर्थ नभएको इंगित गरेका छन् । पूर्वराजाले भनेका छन्– प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य होइन र यो निर्वाचन पनि सामान्य होइन । त्यसैले पहिला समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुनेछ ।

भिडियो सन्देशमा उनको भनाई थियो– ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ । मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो ।’

पूर्वराजा ज्ञानेन्द्रले सो भिडियो सन्देशमा मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्चे अवस्था आउनु दु:खद् भएको पनि बताएका छन् । हाल देश कसैलाई खुसी पार्न वा कसैबाट निर्देशित हुन बाध्य हुने अवस्थाको जञ्जिरमा बाँधिएको भन्दै उनले जनता आफैँ सचेत र जागरुक नहुँदासम्म प्रजातन्त्र बलियो नहुने पनि बताए ।

उनको भनाई छ– ‘वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने दुखद् परिस्थितिमा आलोपालो भाग लगाएर खाऔं भन्ने सोचले हैन मिलेर जाऔं भन्ने सोचेले मुलुकलाई नयाँ गति दिन सकिन्छ । यतिखेरको आम जनभावना यही छ कि पहिला मुलुकका गम्भीर राष्ट्रिय समस्याको समाधान गरियोस् र त्यसपछि मात्र निर्वाचन प्रक्रियातर्फ अघि बढियोस् ।’

अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको उनको भनाई थियो । विगतमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनले वास्तवमा नेपाल र नेपालीलाई के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको पनि उनको धारणा थियो ।

निर्वाचन हुँदैन कि भन्ने आशंकाबीच अब मतदानको प्रक्रिया मात्र बाँकी रहेको अवस्था छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि यो अवस्था आएको हो । हुनत जेनजी आन्दोलन लगत्तै राजतन्त्र फर्किने अनुमान पनि धेरैले गरेका थिए, तर त्यो खोइ किन सम्भव भएन भन्ने कुरा अहिले पनि अन्यौल नै छ । त्यसपछि अहिले पनि देशमा राजतन्त्र फर्किने अनुमान सहितका विश्लेषण र भाषणहरु पनि हुँदै आएका छन् ।

तर पनि राजतन्त्र फर्किहाल्ने जस्तो परिस्थिति भने बनेको जस्तो देखिँदैन । आसन्न निर्वाचनमा होमिएका पार्टीमध्ये राप्रपाको मात्र देशमा संवैधानिक राजा र हिन्दू राज्यको माग रहेको छ, अरुको छैन । यस्तो अवस्थामा पूर्वराजाबाट यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृत्तमा एक नयाँ संयोगका रुपमा लिइएको छ ।

साथै यसअघि पूर्वराजाले यो अवस्थामा राजनीतिक टिप्पणी गर्ने गरेका थिएनन् । साथै आसन्न निर्वाचनको घोषणा भएपछि पनि उनले निर्वाचनको विषयलाई लिएर कुनै पनि टिकाटिप्पणी गरेका थिएनन् । अझै पनि कहीँ कतै चुनाव नहुने त होइन भनी गरिएका आशंकाहरुकै बीचमा पूर्वराजाबाट आएको यो अभिव्यक्तिको राजनीतिक अर्थ गहिरो हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

पूर्वराजाको यो अभिव्यक्ति आएपछि आसन्न निर्वाचन अगावै निर्वाचनका बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भएको ती विश्लेषकहरुको भनाई छ । उनीहरु भन्छन्– यसबाट मुलुकको सबै पक्ष निर्वाचनका लागि सहमत छैन र यो निर्वाचन अगावै पूर्वराजाले भनेजस्तै एक प्रकारको गोलमेच सम्मेलनका बारेमा सोचविचार गर्नुपर्ने अवस्था आएको छ ।