२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक इमान्दार चुनावी बाचापत्र



अ+ अ-

आदारणीय मतदाता आमा बुवा, दिदी बहिनी तथा दाुजभाइहरु,

यहि फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा हामी तपाइहरुको अमूल्य मत माग्दै गर्दा हाम्रो सच्चा बाचापत्र /प्रतिवद्धता पत्र /घोषणापत्र हजुरहरु सामु प्रस्तुत गरेका छौ । हाम्रो दल जे गर्दछ त्यो प्रतिवद्धता गर्दछ र जे प्रतिवद्धता गर्दछ त्यो पूरा गर्दछ सर्व प्रथम हामी हजुरहरुलाई यस कुरामा विश्वस्त गराउन चाहन्छौ ।

हामी तपाइहरुलाई सपना बाड्न आएका थिएनौ, होइनौ र भविष्यमा पनि सपना बाडेर मत माग्ने छैनौ । हाम्रो समाज, हाम्रा प्रवृत्ति, धरातलीय यथार्थ बाहिर हामी जान चाहदैनौ र सक्दैनौ पनि । हामी मतदाताबाट एक इन्च पनि टाढा रहन सक्दैनौ मात्र होइन कल्पना सम्म पनि गर्न सक्दैनौं । मतदाताको इच्छा, बानी व्यवहार र प्रवृत्ति हाम्रा मूख्य आधार हुन । विगतमा भएका आन्दोलनका मर्म र भावनालाई हामी विर्सिन सक्दैनौं ।

हामी अनुमानयोग्यतामा विश्वास गर्दछौं । भविष्यमा के गर्ने भन्ने विषय हाम्रा नीति, विगतका अभ्यास समेतबाट सहजै अनुमान गर्न सकिन्छ । निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्नेमा हामी शंका गरिरहेका छौं । हामीलाई विश्वास छ कि हामी अत्यधिक मत सहित विजयी हुने छौ । यदि सोचे अनुसारको नतिजा नआएको अवस्थामा हाम्रो शंका सत्य सावित हुनेछ । त्यस्तो नतिजा सहजै स्वीकार हामी गर्ने छैनौं ।

सरकार र विपक्षीहरुले हामी विरुद्ध धेराबन्दी गरेकोमा छानवीनको माग हुनेछ । हाम्रो नेतृत्वले पराजय भोग्नु परेमा आउने असहज परिस्थितिको जिम्मा सरकारले लिनु पर्दछ । यो हाम्रो मात्र होइन समग्र मतदाताको आवाज हो भन्नेमा हामी दृढ छौ ।

सभ्य समाज, नैतिक समाजको विकास हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैले हामी उपर कसैले कुनै आरोप, प्रत्यारोप, गाली गलौज नगरोस भन्ने चाहन्छौ । हामीलाई नैतिकता र इमान्दारिता कसैले सिकाइरहनु पर्दैन । यो बाचापत्र पढ्दै जानुहोस हामी कति नैतिक र इमान्दार छौ आफै अन्दाज गर्न सक्नुहुनेछ ।

आमा बुवा, दिदी बहिनी तथा दाुजभाइहरु,

अव हामी क्षेत्रगत रुपमा हाम्रा बाचा वा प्रतिवद्धता तपाई सामु राख्ने अनुमती चाहन्छौ ।

संसदीय अंक गणित र हाम्रो दल:

नेपालका दलहरुलाई लाग्दै आएको आरोप आन्तरिक लोकतन्त्र भएन भन्ने नै हो । हाम्रो दल यो आरोपबाट मुक्त रहनेछ । विचार एवं सिद्धान्तका आधारमा हुने कुनै पनि गठबन्धनमा भन्दा हामी सत्ता र अवसर केन्द्रित गठवन्धन गर्न कुनै कसर वांकी राखिने छैन । किनकि हामी देश र जनताको सेवाका लागि समर्पित दल हौ ।

यसका लागि छेपारोले रंग फेरेजस्तै गरी हामी विहान, दिउसो र वेलुका अलग अलग दलसंग साझेदारी गर्न प्रयास गर्ने छौ । दल सम्वन्धी कानून संशोधन वा परिमार्जन गरी दल एवं नेतृत्वको मात्रात्मक बृद्धिमा जोड दिनेछौ किनकी हामीलाई प्रष्ट छ कि हामी बहुदलीय व्यवस्थामा विश्वास गर्दछौ । यो कुरा पनि हामीलाई हेक्का छ कि सरकार इतर बसेर हामी तपाईको सेवा गर्न सक्दैनौ ।

राजनीति र अपराधप्रतिको दृष्टिकोण:

राजनीति र अपराधलाई लिएर आम असन्तुष्टि बढीरहेकोमा हामी चिन्तित छौ । इतर दलहरुले राजनीतिक लाभ हानीका आधारमा गर्ने राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हामीलाई कदापी स्वीकार्य हुने छैन । त्यसैले समाजमा डर त्रास फैलाउने, अपराधिक मानसिकता भएका व्यक्ति वा समूहहरुको तथ्यांक संकलन गरी तीनको विश्लेषण गरिनेछ ।

दाजुभाइ तथा दिदी बहिनीहरु हामी यो विश्वास दिलाउन चाहन्छौ कि उक्त विश्लेषणका आधारमा तत्तत् क्षेत्रमा दक्षता हासिल गरेका वा गर्न सक्ने देखिएका व्यक्ति वा समूहसंग हामी सामिप्यमा रहने छौ । सके उनीहरुमा अवसर र सेवा केन्द्रित गर्नेछौ नसकेमा हाम्रो प्राथमिकतामा पारिनेछ । हामी यहांनिर मतदाताहरुलाई विश्वस्त दिलाउन चाहन्छौ कि आगामी प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनमा त्यस्ता पात्रहरुलाई टिकट दिई तपाईहरु माझ पठाउने नै छौं ।

विगतमा राज्यले प्रतिशोष साधेर जेल पठाएका त्यस्ता नेपाल आमाका सन्तानहरुलाई आम माफी दिइनेछ । अदालतमा भएका मुद्दा फिर्ता लिई निजहरुलाई हाम्रो पाटीमा भित्राउने छौ ।

सुशासन र भ्रष्टाचार नियन्त्रण:

भर्खर भएको जेनजी आन्दोलनको मर्म र भावनाको अपनत्व हामी लिनेछौ । देशमा भ्रष्टाचार र अनियमितता गर्नेहरु उपर कठोर बन्ने संकल्प गर्दछौ । हामी तपाई आम नागरिकको प्रतिनिधित्व गर्ने दल हौं । तपाईको अभिमत, विश्वास हामी र हाम्रो दलमाथि भएकोले हामी माथि प्रश्न उठाउनु भनेको तपाई माथि प्रश्न उठाउनु हो भन्ने कुरामा दृढ छौ ।

त्यसैले त अख्तियार, प्रहरी लगायतका निकायहरु हाम्रो पाइलामा जसले अवरोध पुराउनेछ उसका विरुद्ध परिचालित गर्ने छौं । संसदको अंक गणितलाई ख्याल राखि यसतर्फ हामी थप संवेदनशील बन्नेछौ । हाम्रा कदमहरुमा अवरोध सिर्जना गर्ने पश्चगामी, देशद्रोही हुन भन्ने कुरामा तपाई विश्वास गर्नुहुन्छ भन्ने हामी अपेक्षा गर्दछौ ।

प्रशासन र सेवा प्रवाह:

राज्यका प्रशासनिक संरचना जनताको पक्षमा सशक्त परिचालन गरिनेछ । हामी तपाइको मतबाट चुनिएर आएपश्चात जो जे गर्दै जान्छौ त्यो पक्कै पनि जनकेन्द्रित हुनेछ । प्रशासनलाई निष्पक्ष र तटस्थ राख्ने कुरामा कुनै कसूर बांकी राख्ने छैनौ । विगत, चुनावी माहोलको वर्तमान तथा भविष्यमा हाम्रा विरुद्ध लाग्ने कोहि कसैलाई प्रशासनिक जालमा जुनसुकै बखत पार्नेछौ । हामी पारदर्शीतामा विश्वास गर्दछौ । त्यसैले हामी भोलि जे गर्दछौ त्यो तपाईमाझ आजै प्रस्तुत गरिरहेका छौ ।

ठूला आयोजना, ठेक्का पट्टाहरुमा हाम्रो चासो र सरोकार रहने नै छ तर पनि हामी कुनै कानूनी झमेलामा फस्नेवाला छैनौ किनकी हामी तपाईहरुका जनप्रतिनिधि हौ । त्यसैले राजनीतिक हस्तक्षेपका आधारमा हामी कर्मचारीलाई आफू अर्थात तपाई केन्द्रित निर्णय गर्न बाध्य पारिनेछ । कदाचित हामी विपक्षीमा रहेमा चाहेर पनि हामीलाई जनताको नजरमा गिराउन नसकुन भन्ने तर्फ हामी संवेदनशील छौ । सरुवा, पदस्थापना तथा बढुवाजस्ता विषय हाम्रो नियन्त्रणमा नै रहनेछन । प्रशासनको कुण्डलीको उपयोग हाम्रो प्राथमिकतामा रहने नै छ ।

सार्वजनिक सेवा प्रवाह पूर्णतया अनलाइनमा आधारित बनाइने र मुख्य मुख्य कार्यका लागि अनलाईन प्रणाली मै तगारो थापिने छ । परिचयपत्र, पासपोर्ट, लाइसेन्स, लालपूर्जा र यस्तै सेवा प्रवाहका लागि निजी क्षेत्रलाई संलग्न गराइनेछ । निजी क्षेत्र जो जनताको सेवा (हामीप्रति बफादार) मा तल्लिन हुनेछ उसको कब्जामा यी सेवालाई सुरक्षित राखिनेछ ।

विदेश सम्वन्ध: भाले न पोथी

आदारणीय मतदाताहरु,

नेपालको परराष्ट्र सम्वन्ध थप प्रभावकारी बनाइनेछ । विदेश नीति समय र परिस्थिति अनुसार संचालन गरिनेछ । हामी सत्तामा वा सत्ता इतर रहदा हाम्रो विदेश नीति तदअनुसार नै हुनेछ । सत्तामा रहदां छिमेकी तथा मित्र राष्टलाई हेर्ने दृष्टिकोण र सत्ता बाहिर हुंदा विलकुल फरक हुनेछ किनकी हाम्रो भूमिका नै फरक भैसकेको हुनेछ ।

बजारमा बहसमा रहेका डक्ट्रीनहरुबारे हामी पूर्ण जानकार नै छौ । हामीलाई अनुकूल दृष्टि राख्नेहरु प्रति हामी अनुग्रहित हुनेछौ । निर्वाचन वा यस्तै वेलामा हाम्रो छवी पूर्णतया राष्ट्रवादी हनेछ । यसका लागि हामी साम्राज्यबाद् वा विस्तारबाद् वा पूजीबाद् वा यस्तै बाद्हरुको विरोध गर्नेछौ । सत्तामा हामी तपाइहरुको वा आफ्नै क्षमताले पुगेका हुनेछौं भने इतर वैदेशिक हस्तक्षेपबाट ।

संसदमा हाम्रो भूमिका:बाह्रौ खेलाडी

स्वभाविक रुपमा संसद सरकार जन्माउने थलो हो । हामी संसदमा सशक्त भूमिका निर्वाह गर्नेछौ । नागरिकका हक अधिकारको सुनिश्चितताको लागि हामी लडिरहने छौं । सभामुख, संसदीय समितिको नेतृत्व प्राप्ती पहिलो प्राथमिकतामा राखेका छौ । दलीय पक्षधरताका आधारमा नेतृत्व परिचालित हुंदा त्यसको लाभ हानीको वारेमा हामी दिक्षित छौ । महत्वपूर्ण पदहरु नियन्त्रणमा राखि संसदलाई तपाईको इच्छा अनुसार संचालन गर्नेछौ । तपाइको इच्छाको सहि प्रतिनिधित्व गर्ने हामी नै भएकोमा हामी फेरीपनि सचेत सजग छौ ।

हामी अनुकूलता प्रतिकूलता हेरी संसदको अधिवेशन तथा वैठकहरु संचालन गर्ने नगर्ने विषय निर्धारण गर्नेछौ । स्पष्ट बहुमत नआएको अवस्थामा अंक गणितीय खेललाई हामी रोमान्चित बनाउने छौ । सत्ता पक्ष रहंदा घण्टौ लगाएर पोडियमबाट विपक्षीको सत्तोसराप गर्नेछौ भने विपक्षीमा बस्नु पर्ने वाध्यतात्मक अवस्थामा हामी संसदमा नाराबाजीमा सिमिति हुने छैनौं । तोडफोड, हानाहानलाई सामान्य रुपमा लिइनेछ र भनिनेछ यसको जिम्मा सत्तापक्षले लिनु पर्दछ ।

आन्दोलनलाई हेर्ने हाम्रो नजर

जेनजी आन्दोलनको मर्म र भावना हाम्रै थियो, हो र रहनेछ । हामी नागरिक क्रान्तीलाई सम्मान गर्ने दल हौ । त्यसैले त हामी विगतका सवै आन्दोलनलाई आफ्नै ठान्दै आयौ । चैत्र २५ को राजाबादी आन्दोलन होस वा कोशी तिरको पहिचानको आन्दोलन नै किन नहोस त्यहा हामीलाई नै देख्दछौं । लाग्दोहो कि हजुरहरुलाई पृथक पृथक आन्दोलन कसरी अपनत्व ? हामी नागरिकका आवाज सुन्न चाहन्छौ । हामी सत्तामा छैनौ भने सवै माग र आन्दोलन हाम्रै हैनन र ?

आदरणीय मतदाताहरु,

जव हामी सिंहदरवार पुग्दछौ तव देशद्रोहीले आगो लगाएको देख्दछौ अनि जव आन्दोलनका शहिद परिवार एवं घाइतेलाई भेट्दछौं हाम्रो मुटु भक्कानिएर आउछ । जलेका भाटभटेनी र हिल्टन पुग्दछौ उनीहरुलाई अंगालो हालेर रुन मन लाग्दछ । जव सामाजिक संजालमा जलेका भाटभटेनीहरुका तस्वीर भिडियो सहितका उल्लासमय पोष्ट देख्दछौं । यी जलाउने बेलामा हामी किन त्यहां भएनौ, किन जलाउन पाएनौ ? जस्तो लाग्दछ । कस्तो चरित्र होला ? सोच्दै हुनुहुन्छ ? हामी लोकप्रियताबादमा विश्वास गर्दछौ र त तपाईका पृय छौं । सवै परिस्थिति र अवसरमा एकै रहन कहां सकिन्छ हैन र ?

किसान, सुकुम्वासी र अव्यवस्थित बसोबास:

आगामी पांच वर्षमा गरिव, किसान, सुकुम्वासीहरुलाई हामी परिचयपत्र उपलव्ध गराइनेछ । परिचयपत्रका आधारमा के कस्तो सेवा सुविधा दिने भन्ने विषयमा आगामी आम निर्वाचनका बखत तपाईहरु सामु हामी आउनेछौं । कृषकलाई प्रोत्साहन गर्ने नीति लिइनेछ । कृषिलाई हेर्ने तपाइ मतदाताको दृष्टिकोण भन्दा हामी पृथक हुन सक्दैनौ ।

कृषिलाई जसरी निम्नस्तरको पेशा वा कर्मको रुपमा तपाइहरु सोचिरहनु भएकोछ हामी सम्मान गर्दछौं । कृषि उपजको समर्थन मूल्य व्यावसायी व्यापारीहरुको समन्वय र सहकार्यमा निर्धारण गरिनेछ । रासायनिक मल, विउ विजनको हाहाकार र विचौलियाको जालोवीच तादाम्यता कायम गरिनेछ । सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत तथा दलसंगको आवद्धता पहिचान गरिनेछ । चुनावको अंकगणितका आधारमा यसको व्यवस्थापनको नीति लिइनेछ ।

चुनावका बेला पीडा साटिनेछ भने निर्वाचन पश्चात हामी पीडा सम्झाएर नुनचुक लगाउने छैनौ । अर्को निर्वाचनको पर्खाइमा रहनेछौ । किसानका आन्दोलनमा हामी नारा लगाउदै पुग्नेछौ । उनीहरुलाई देखाएर हामी सरकारको आलोचना गर्नेछौ । सत्तामा रहेको वेला पनि हामी उधारो सम्झौता गरी राजधानीबाट तत्काल फर्काउने छौं ।

अन्य दल प्रतिको दृष्टिकोण:

आदारणीय मतदाताहरु, हाम्रो सिद्धान्त, हाम्रा प्रतिवद्धता जनमैत्री रहे भएकोमा कुनै विवाद रहेन । आज नेपाल र नेपालीको जुन अवस्था रहेको छ त्यो हामी इतरका दलहरुकै कारण हो । प्रतिगमनका हिमायती यी दलहरुले भ्रष्टाचार र अनियमिततालाई मलजल गरेका छन । हामी नेपालीको जीवनस्तरमा सुधार गरी आगामी पांच वर्ष भित्र यूरोपियनस्तरको पुराइनेछ । नेपाली राजनीतिमा फष्टाएका फासिष्ट, राष्ट्रघाती……..यी शव्दहरु विपक्षी दलका पर्याय हुन । त्यसैले त हामी तपाइहरुसंग मत मागिरहेका छौ । विदेशीको इशारा र हरियो डलरबाट संचालित यी दलहरु तपाई हाम्रालागि फौंजी किरा सरह हुन ।

अन्तमा,

आदारणीय मतदाताहरु यती वाचापत्रबाटै तपाईलाई थाहा भैसकेको छ कि हामी हरेक क्षेत्र, पेशा, व्यवसायलाई कसरी हेर्दछौं । त्यसैले तपाईको जीवनस्तरमा फड्को मार्न वा मराउन सक्ने दल हामी मात्र हौं । हाम्रा कार्यहरु देखेर सारा विश्व चकित हुनेछ । यूरोप अमेरिका हामीसंग सहयोगको भिख माग्नेछन । लाखौं विदेशी नागरिक भिसाको लागि लाइनमा हुनेछन । यस्तो देश पांच वर्षमा बनाउने योजना, परिकल्पना हामीसंग छ तसर्थ हामीलाई अत्यधिक मत सहित विजयी गराउनुहोस ।

धन्यवाद