२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको चुनावी लहर एकातिर, पार्टी छाड्ने पनि बढ्दै



अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार अहिले तिब्र गतिमा बढ्दो छ । खासगरी पार्टी सभापति रबि लामिछाने र पार्टीले अघि सारेका प्रधानमन्त्रीका प्रत्यासी बालेन शाहले चुनावी प्रचारलाई तिब्र बनाइरहेकै अवस्थामा पार्टीका दुई पुराना नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

रास्वपा बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवारी चयनमा असन्तुष्ट रहेका चौधरी यसपटक पनि बारा क्षेत्र नं. ४ का आकाँक्षी थिए । उनी २०७९ सालको प्रतिनिधिसभामा पनि पार्टीका तर्फबाट उम्मेदवार रहेर पार्टी निर्माणमा सक्रिय थिए ।

चौधरीले यसपटक पनि रु. २५ हजार तिरेर आन्तरिक चुनाव (प्राइमरी इलेक्सन) मा सहभागी भएका थिए । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारका अनुसार, अन्तिममा पार्टीले अर्कै व्यक्तिलाई टिकट दिएपछि पवन असन्तुष्ट भएका थिए ।

थारु समुदायको बाक्लो उपस्थिति रहेको बारा–४ मा पवनलाई उम्मेदवार नबनाउँदा त्यसको असर पार्टीभित्र पर्ने निश्चित रहेको बताइन्छ । यहीबिच उनी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । उनीमात्र होइन, पार्टीका जिल्लास्तरीय अन्य नेता तथा कार्यकर्ताले समेत पार्टी परित्याग गरेपछि पार्टी संकटमा परेको छ ।

यसअघि नै बारा क्षेत्र नम्बर-३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर(४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदिप गुप्ताले समेत पार्टी छाडेका छन् ।

रास्वपाले बाराका चार मध्ये तीन क्षेत्रमा नयाँ व्यक्ति प्रवेश गराएर उम्मेदवार बनाएको छ । जनता समाजवादीबाट आएका चन्दन सिंह बारा(२ मा उम्मेदवार छन् ।
बारा-३ मा कुलमान घिसिङको उज्यालो नेपालका केन्द्रीय सदस्य रहेका अरविन्द सिंह र बारा-४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्सा १ (१) मा निर्वाचित रहबर अन्सारीलाई ल्याएर रास्वपाले उम्मेदवार बनाएको छ ।

बारा-१ मा भने रास्वपाका प्रदेश सहमहामन्त्री गणेश धिमाल उम्मेदवार छन् । धिमाल अघिल्लो पटक पनि उम्मेदवार बनेका थिए ।

धनगढी नगर सभापतिले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले साधारण सदस्यबाट समेत अलग हुने गरी केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन्।

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका बिष्ट सुदूरपश्चिम प्रदेशमै रास्वपाका दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए। उनले उक्त निर्वाचनमा ३४०५ मत प्राप्त गरेका थिए। बिष्टले पार्टीले अघि सारेको युवा राजनीतिमा जान्नेलाई अवसर दिने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरी प्रणालीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रभावित भएर आफू पार्टीमा आबद्ध भएको बताएका छन्।

तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति भएको उनको भनाइ छ। संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न उठाएको उनले उल्लेख गरेका छन्।

बिष्ट कैलाली–५ मा पुन: प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न आकांक्षी थिए। तर रास्वपाले उक्त क्षेत्रमा आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। अन्तत: मौन रहन नसक्ने निष्कर्षमा पुग्दै पार्टीबाट पूर्ण रूपमा अलग हुने निर्णय गरेको उनले बताएका छन्।

प्रणय शमशेर राणाद्वारा पार्टी परित्याग

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई पत्र पठाएर पार्टीको सदस्यता समेत नरहने गरि पार्टी नै परित्याग गरेका छन्।

पार्टीले प्राइमरी चुनावका आधारमा प्रतिनिधिसभाको उम्मेदवार छनोट गर्ने भने पनि पैसा उठाएर त्यस्तो चुनाव नगरेको र मनोमानी ढंगबाट उम्मेदवार छनोट गरेको आरोप लगाएका छन् । उनले प्राइमरी इलेक्सनका नाममा आर्थिक अपारदर्शिता रहेको भन्दै पार्टीमा बुझाएको रकम फिर्ता गर्न समेत भनेका छन् ।

पार्टी स्थापनाकालमा गरिएको बाचा “बेथितिको अन्त्य, थितिको थालनी” ठिक उल्टो भएर “थितिको अन्त्य, बेथितिको थालनी” भएको उनको आरोप छ ।