२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्य निरुपणमा मन्त्रीको खोजी हुँदै



अ+ अ-

काठमाडौं । संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेस ताते पनि कानुनमन्त्री रिक्त हुँदा जटिलता देखिएको छ । तत्कालीन माओवादीको १० वर्षे सशस्त्र युद्धकालीन घटनामा पीडितसँग छलफल गरी संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको २०७० पुस १८ को आदेश अनुसार मन्त्रालयले पुस २८ गते सातवटै प्रदेशमा पीडितसँग छलफल गर्दैछ । पीडितका सुझाव र सल्लाह समेटेर सत्य निरुपण विधेयकमा संशोधनको मस्यौदा संसद्मा लैजाने तयारीमा मन्त्रालय छ ।

तर कानुनमन्त्री नतोकिँदा विधेयक निर्माण र सरोकारवालासँग छलफलमा समस्या देखिएको मन्त्रालयका अधिकारी बताउँछन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कानुन मन्त्रालयको जिम्मेवारी अर्को कुनै मन्त्रीलाई तोक्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिइसकेको बताउँछन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मा प्रधानमन्त्री आफैले लिएका छन् ।

प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीलाई नतोक्दा संसद् बैठक सञ्चालन र कानुन निर्माणमा समस्या रहेको मन्त्रालयका अधिकारी बताउँछन् । ‘संक्रमणकालीन न्यायको काम राजनीतिक सहमति अनुसार अघि बढने हो’, मन्त्रालयका एक अधिकारीले भने, ‘यो काम हामी कर्मचारीले मात्र टुंग्याउन सक्दैनौं । अहिले मन्त्रीज्यूको खाँचो छ ।’ संक्रमणकालीन न्यायलाई चाँडो टुंग्याउने भन्दै सत्तापक्ष र विपक्षी नेता आन्तरिक छलफलमा छन् । सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार संक्रमणकालीन न्याय सम्पादन र सत्य निरुपण आयोग गठनका विषयमा छलफल भएको थियो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, ऊर्जामन्त्री वर्षमान पुन र कांग्रेस नेता रमेश लेखकबीच बुधबार नेकपा संसदीय दलको कार्यालयमा संक्रमणकालीन न्याय सम्पादन गर्न सत्य निरुपण विधेयकमा संशोधन र आयोग गठनबारे छलफल भएको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत वर्षको चैत २७ देखि पदाधिकारीविहीन छ । पदाधिकारी नहुँदा उजुरी पनि अलपत्र छन् । संक्रमणकालीन न्याय चाँडो टुंग्याउन र पीडितका आवाज सुन्नुपर्ने भन्दै पश्चिमा मुलुक र मावअधिकारवादीले चासो देखाइरहेका छन् ।

बेपत्ता आयोगले २ हजार ३ सय ६९ फाइलमध्ये आधाको मात्र प्रारम्भिक अनुसन्धान सकेको छ । मेलमिलाप आयोगमा परेका ६४ हजार उजुरीमध्ये २ हजार ९ सयको मात्र प्रारम्भिक अनुसन्धान भएको छ । २०७१ माघ २७ मा २ वर्षका लागि गठित दुवै आयोगको सरकारले दुई पटक थपेको म्याद थपे पनि माघ २६ मा सकिएको थियो । त्यसपछि पनि सरकारले ऐन संशोधन गरी दुई महिना पदाधिकारीको लागि थपेको थियो । चैतदेखि दुवै आयोग पदाधिकारीविहीन छन् ।

आयोगमा पदाधिकारी छनोटका लागि पूर्वप्रधानान्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैत अन्तिम साता सिफारिस समिति गठन गरेको थियो । समितिले त्यसका लागि आवेदन लिए पनि नाम छनोट गर्न सकेको छैन । २०७६ भदौ ४ गते सत्तासीन नेकपा र विपक्षी कांग्रेसबीच पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलाई आयोग अध्यक्ष बनाउने सहमति भएको थियो ।

तर श्रेष्ठले आयोगमा बस्न नमानेपछि अन्य पात्रका विषयमा छलफल भएपनि टुंगो लाग्न सकेको छैन । ‘संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने विषयमा हामी गम्भीर छौं’, नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने, ‘आयोगले पूर्णता पाउनेदेखि कानुन संशोधनको कामले अब छिट्टै गति लिन्छ ।’ अन्नपुर्णपोष्ट दैनिकबाट