२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरकाे पौवादुङमाबाटै अब करसम्बन्धी सेवा प्रवाह



अ+ अ-

काठमाडाैँ । पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार साविक करदाता सेवा कार्यालय भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराइने सहमति भएको छ। यस व्यवस्थासँगै सामान्य करसम्बन्धी कामका लागि सेवाग्राहीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

समझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) जारी गर्नेछ भने स्थानीय तहमा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर उपलब्ध गराउनेछ।

त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताका लागि आवश्यक कागजात सङ्कलन गरी सम्बन्धित कार्यालयमा सिफारिस गर्ने, अन्तःशुल्क इजाजतपत्रसम्बन्धी प्रक्रिया सहजीकरण गर्ने तथा कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने लगायतका सेवा पनि गाउँपालिकाबाटै प्रदान गरिने जनाइएको छ।

करदाता दर्ता विवरण संशोधन, करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत गाउँपालिकाले सहकार्य गर्नेछ। यसबाट स्थानीय करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी कानुनी प्रक्रिया बुझ्न थप सहज हुने विश्वास गरिएको छ।

सम्झौताअनुसार आगामी चैत ५ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ। गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय नागरिकका लागि करसम्बन्धी प्रक्रिया सरल र पहुँचयोग्य बनाउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले समझदारीपत्रमा उल्लेख गरिएका विषयअनुसार करसम्बन्धी काम गाउँपालिकाबाटै प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए। गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै गरिएको यो सहकार्यले राजस्व प्रशासनलाई नागरिकमैत्री बनाउने, सेवा प्रवाह छिटोछरितो बनाउने तथा सङ्घीय संरचनाअनुसार अधिकार कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।