२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत नियमन आयोगले संस्थाहरूका लागि नयाँ मापदण्ड ल्याउने



अ+ अ-

काठमाडौँ । विद्युत नियमन आयोगले अनुमति प्राप्त संस्थाहरूको संस्थागत सुशासन सुदृढ गर्न ‘अनुमति प्राप्त संस्थाको संस्थागत सुशासन सम्बन्धी मापदण्ड, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४को दफा ४३ ले दिएको अधिकार प्रयोग गर्दै उक्त मापदण्ड तयार गरेको जनाएको छ ।

सार्वजनिक गरिएको मस्यौदामा विद्युत क्षेत्रका अनुमतिपत्र प्राप्त संस्थाहरूको सञ्चालनलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्य राखिएको छ । मस्यौदाअनुसार संस्थाले असल संस्थागत सुशासन अभ्यासको प्रवर्द्धन र पालना गर्नुपर्ने, शेयरधनी तथा सरोकारवालाप्रति उत्तरदायी बन्नुपर्ने तथा आर्थिक र प्रशासनिक गतिविधिमा पारदर्शिता कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन सार्वजनिक खरिदसम्बन्धी आधारभूत सिद्धान्त र व्यवस्थालाई अनुसरण गर्दै आफ्नै खरिद विनियमावली तयार गरी लागू गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । आयोजना निर्माण वा सञ्चालनसँग प्रत्यक्ष वा परोक्ष सरोकार भएको कम्पनी, फर्म वा ज्वाइन्ट भेन्चरलाई निर्माण परामर्श, सामग्री आपूर्ति लगायतका कार्यमा सहभागी हुन नपाइने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । प्रवर्द्धक र निर्माण कम्पनी एउटै व्यक्ति वा समूह रहेको अवस्थामा त्यस्तो कम्पनीले निर्माण कार्य गर्न नपाउने प्रावधान पनि मस्यौदामा समेटिएको छ ।

सञ्चालक समितिको संरचनामा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकिने र व्यक्तिगत स्वार्थ गाँसिएको विषयमा सम्बन्धित सञ्चालकले निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

लेखा तथा वित्तीय व्यवस्थापनतर्फ दोहोरो लेखा प्रणाली अनिवार्य गर्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने र प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । जोखिम व्यवस्थापनका लागि आयोजना निर्माण तथा सञ्चालनसँग सम्बन्धित जोखिम पहिचान, मापन र अभिलेख तयार गर्नुपर्ने तथा जोखिमको सम्भावनाअनुसार वर्गीकरण गरी आवश्यक परे बीमा व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरिएको छ । जोखिमलाई ‘निश्चित’, ‘उच्च’, ‘मध्यम’, ‘न्यून’ र ‘अति न्यून’ गरी वर्गीकरण गर्ने व्यवस्था राखिएको छ ।

मानव संसाधन व्यवस्थापनतर्फ कर्मचारी नियुक्ति, बढुवा र सेवा–सुविधालाई व्यवस्थित बनाउन कर्मचारी विनियमावली लागू गर्नुपर्ने उल्लेख छ । संस्थागत सामाजिक उत्तरदायित्व, गुनासो सुनुवाइ संयन्त्र स्थापना, वित्तीय विवरण सार्वजनिक गर्ने व्यवस्था तथा नियामक निकायले आवश्यक जाँचबुझ र निरीक्षण गर्न सक्ने प्रावधान पनि मस्यौदामा समेटिएका छन् ।