२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन



अ+ अ-

काठमाडाैँ ।  यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख भुवन जोशीका अनुसार विभिन्न शीर्षकबाट उक्त राजस्व सङ्कलन भएको हो। उनले सबैभन्दा बढी राजस्व सवारीसाधन करबाट सङ्कलन भएको जानकारी दिनुभयो, जसबाट मात्र रु ३७ करोड ८३ लाख प्राप्त भएको छ।

त्यसैगरी व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट सबैभन्दा कम रु १२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास तथा लाइसेन्स प्रमाणीकरणबाट रु ९ करोड ३५ लाख ८२ हजार राजस्व सङ्कलन भएको छ।

यस्तै यातायात क्षेत्रका विभिन्न सेवासम्बन्धी आम्दानीअन्तर्गत लगतकट्टा, प्रदूषण परीक्षण र रुट ईजाजतबाट रु ८८ लाख २६ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन भएको थियो। कार्यालयको बेरुजु रकम शून्य रहेको तथ्याङ्कमा उल्लेख छ।