काठमाडाैँ । बुद्ध जन्मस्थल लुम्बिनीको फोहर व्यवस्थापनका लागि ‘सरसफाइ अध्ययन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–५ ढोडहवामा उक्त सरसफाइ अध्ययन केन्द्र सञ्चालन गरिएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र द कोका–कोला फाउन्डेसनको सहकार्यमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । सरसफाइ अध्ययन केन्द्रको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे।
त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमूना बनाउने दिशामा महत्वपूर्ण सुरुआत भएको बताए । उनले बर्सेनि १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव सकारात्मक रुपमा बदलिने उल्लेख गरे। मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पारे ।
उनले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गरे। उनले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिँदै अब योजनाले पूर्णता पाउने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रदेशसभा सदस्य रत्नबहादुर खत्री र चन्द्रकेश गुप्ता, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनलगायतले सरसफाइ केन्द्र स्थापनाबाट लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापनमा सहज हुने बताए ।












