काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पार्टीले आगामी बन्ने सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा शपथग्रहणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई प्रश्न गर्ने, सुझाव दिने र आवश्यक सहयोग गर्ने बताएका हुन्। उनका अनुसार स्वच्छ आलोचनाले सरकारलाई सही मार्गमा अघि बढाउन मद्दत गर्ने भएकाले आफूहरू जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नेछन्।
राईले आलोचना र विरोधलाई पनि सिकाइको माध्यमका रूपमा लिँदै त्यसले देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने निर्धारण गर्न सहयोग गर्ने उल्लेख गरे। उनले सरकारलाई देश र जनताको हितमा काम गर्न निरन्तर दबाब दिँदै सहयोग गर्ने स्पष्ट पारे।
संविधान संशोधनको विषयमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको हितमा हुने एजेण्डा ल्याएमा आवश्यक दुईतिहाइ पुर्याउन सहयोग गर्न सकिने बताए। तर प्रस्तावको प्रकृति र उद्देश्यका आधारमा मात्र समर्थन गर्ने वा नगर्ने निर्णय गरिने उनले स्पष्ट पारे।
उनले भने, “हामी प्रतिपक्षमा रहेर सरकारलाई प्रश्न पनि गर्छौं, सहयोग पनि गर्छौं। सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले पनि साथ दिन्छ। आलोचना र विरोधबाट पनि सिकाइ हुन्छ, जसले देशको दिशालाई स्पष्ट बनाउँछ।”
राईले जनताले आफूहरूलाई प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने जनादेश दिएको उल्लेख गर्दै आगामी पाँच वर्षलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
न्यूजपोलार
१२ चैत्र २०८२, बिहीबार १७:२२
न्यूजपोलार
१२ चैत्र २०८२, बिहीबार १७:२२
१२ चैत्र २०८२, बिहीबार १७:२२











