काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ ।
नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्नुभयो ।
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उहाँको पुख्र्यौली घर महोत्तरीको एकडारा हो ।
¥याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाउनुभएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उहाँले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिनुभएको थियो । शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवद्र्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान दिनुभयो ।
सहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासमेत उहाँको योगदान छ । महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा सहरी व्यवस्थापन गर्न योगदान दिनुभयो ।
नेपालका विभिन्न क्षेत्रमा विशेषगरी भूकम्पपछिको पुनःनिर्माण र सहरी व्यवस्थापनमा उहाँले उल्लेखनीय योगदान गर्नुभएको छ । शाहले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणमा सक्रिय सहभागिता जनाउनुभएको थियो ।
पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गर्नुभएका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवा वास्तुकलामा विशेष जोड दिनुभएको छ ।
दुई दर्जनभन्दा बढी ¥याप कम्पोज गर्नुभएका शाहका सिर्जना भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् ।
उहाँका गीतमा बेरोजगारी, असमानता, राजनीतिक विकृतिका साथै राज्य प्रणालीमाथि प्रश्न गरिएको हुन्छ ।संविधानसभाको दोस्रो निर्वाचनपछि नै शाहले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गर्दै देशप्रतिको आफ्नो चिन्ता व्यक्त गर्नुभएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा समर्थन जनाउनुभएका शाहमाथि आन्दोलनको कार्यादेश पूरा गर्नुपर्ने अभिभारा आइलागेको छ । नयाँ पुस्ताको बेचैनी र विद्रोहलाई सम्बोधन गर्दैै परिवर्तनको चाहनालाई उहाँले पूरा गर्नुपर्नेछ ।












