२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षमा पनि पूरा नहुने तामाकोसी आयोजना, २०७८ मा सञ्चालनमा आउने आशा



अ+ अ-

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान गर्न ढिलाइ गरिरहेकाले आयोजना सञ्चालनमा आउन अझै सवा वर्षभन्दा बढी समय लाग्ने भएको हो ।

गत असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । आयोजनाका संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य ०७६ को चैतभित्र पूरा गरी ०७७ असारभित्र पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर, अहिलेकै गतिमा काम हुने हो भने दुईवटै ठाडो सुरुङमा पेनस्टेक जडानका लागि मात्र झन्डै १३ महिना लाग्ने देखिएको छ । पाइप जडानपछि फिनिसिङ तथा परीक्षण कार्य सक्न कम्तीमा २ महिना लाग्ने अनुमान छ । यसरी अहिलेकै गतिमा काम भएमा १५ महिनाअघि आयोजना सञ्चालनमा नआउने देखिएको हो ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडान सक्न अझै १२ महिना:आयोजनाको ३१० मिटर गहिरो माथिल्लो ठाडो सुरुङ जडान कार्य लट २ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामनको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले गरिरहेको छ । ६ महिनामा उक्त कम्पनीले ६२.५ मिटर मात्र पाइप जडान गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार उक्त कम्पनीले ३.६ मिटर चौडाइ, ५ मिटर लम्बाइ र १८ टन तौलका २ वटा (१० मिटर) पाइप जडान गर्न ११ दिनदेखि २० दिनसम्म लगाएको छ । औसतमा १० मिटर पाइप जडान गर्न १५ दिन लगाएको छ । यो गतिलाई आधार मान्ने हो भने बाँकी २४८ मिटर पाइप जडान गर्न ३ सय ७२ दिन अर्थात् एक वर्ष ७ दिन लाग्छ ।

तल्लो ठाडो सुरुङमा पाइप जडान सक्न अझै साढे ६ महिना:आयोजनाको ३७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट –३ अन्तर्गत पावरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एड्रिज हाइड्रोले गरिरहेको छ । एन्ड्रिजले काम सुरु गरेकाले ६ महिनामा १ सय ६० मिटर पाइप जडान सकेको छ । हाल उक्त कम्पनीले ३.६ मिटर चौडाइ, ५ मिटर लम्बाइ र २७ टन तौलका २ वटा (१० मिटर) पाइप जडान गर्न ९ दिन लगाइरहेको छ । जडानको यो गतिलाई आधार मान्दा बाँकी २ सय १३ मिटर पेनस्टक पाइप जडान सक्न १ सय ९१ दिन अर्थात् ६ महिना ११ दिन लाग्ने देखिन्छ ।

पेनस्टक पाइपसमेत आपूर्तिमा ढिलाइ:दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएका टेक्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एन्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । अहिले एन्ड्रिजको तुलनामा टेक्सम्याकोको कामको गति निकै सुस्त देखिएको छ ।

आवश्यक सम्पूर्ण पेनस्टक पाइपसमेत आयोजनास्थलमा आपूर्ति भइनसकेको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार टेक्सम्याकोको कार्य प्रगति निकै सुस्त देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काम चाँडो सक्न कम्पनीकै इन्डियास्थित मुख्य कार्यालयमा पुगेर निर्देशन दिएका थिए । टेक्सम्याकोले कामको गति बढाइ समयमै काम पूरा गर्ने प्रतिबद्धता जनाए पनि समयमै काम सकिने विश्वस्त हुने आधार भने नदेखिएको आयोजना पक्षको भनाइ छ ।

समय कम गर्न वैकल्पिक उपायको खोजी: पाइप जडान कार्य दुवै ठेकेदार कम्पनीले साताको सातै दिन र चौबिसै घन्टा (सिफ्टमा) गरिरहेका छन् । दुवै सुरुङमा समानान्तर रूपमा काम भइरहेको छ । तर, दुवै सुरुङ पूरा नभई विद्युत् उत्पादन गर्न सकिने अवस्था छैन । सोही कारण पेनस्टक जडानमा लाग्ने समय घटाउने उपायको खोजी भइरहेको प्रवक्ता न्यौपानेले बताए । ‘सुरुको पाइन सुरुङमा झार्न मात्रै ७ घन्टा लागेको थियो, अहिले साढे २ घन्टामै झार्न सकिन्छ,’ प्रवक्ता न्यौपानेले भने, ‘५ मिटरका दुई पाइपको बीचमा एउटा वेल्डिङ र कंक्रिटिङ सक्न नै ९६ घन्टा लाग्छ, यो समय घटाउन एकैपटक दुई जोड्तिमा समानान्तर रूपमा वेल्डिङ गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको छ ।’

तर, धेरै भारका दुई पाइपको बीचमा राम्रोसँग जडान नै नसकी अर्को पाइप खसालेर जडान गर्न सक्ने सम्भावना भने कमै देखिएको उनको भनाइ छ । यसबाहेक जडानकर्मीको सुरक्षा, अक्सिजनको पर्याप्ततालगायत कुरामा पनि जोखिम बढी हुने देखिएको छ । यस्ता चुनौतीबीच पनि ठेकेदार कम्पनी एन्ड्रिजले भने लक्षित समयमै काम सक्ने पूर्ण आत्मविश्वास देखाइरहेको छ । जडान कार्य माथि आउँदै जाँदा पाइप झार्नुपर्ने गहिराइ, पाइपको मोटाइ र प्राविधिक जानुपर्ने दूरी कम हुँदै आउने भएकाले समय कम लाग्दै जाने प्रवक्ता न्यौपानेको भनाइ छ । ‘तलको तुलनामा माथि रहने पाइपको थिकनेस कम हुँदै आउँछ, यसले वेल्डिङमा समेत समय कम लाग्छ,’ उनले भने ।

१० वर्षमा पनि पूरा नहुने भयो आयोजना: ०६७ साउनबाट आयोजनाको निर्माण सुरु गरेर ०७२ असारसम्ममा सक्ने लक्ष्य थियो । तर, ०७२ वैशाख १२ मा गएको भूकम्पले आयोजनास्थल जाने सडकमै भने क्षति पुर्यायो । आयोजनाको सुरुङलगायत संरचनामा भने खासै असर पारेन । सडकमार्गको कारण झन्डै डेढ वर्ष निर्माण कार्य रोकियो । त्यसपछि ०७५ को पुसदेखि आयोजना सञ्चालनमा ल्याउने लक्ष्यका साथ ०७३ मंसिरबाट काम पुनः सुरु गरियो ।

यो लक्ष्य पनि पूरा भएन । लट २ को ठेकेदार टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस ०७६ भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्य राखियो । त्यसपछि ०७७ को असार मसान्तभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । उक्त लक्ष्यसमेत पूरा नहुने देखिएको छ ।

लागत बढेर ७२ अर्ब पुग्ने:आयोजनाको सुरुङको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो । ०७२ भूकम्प र ठेकेदारको ढिलाइका कारण आयोजनाको समय लम्बिँदा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक नै ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ संशोधित अनुमान थियो । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधित थियो । तर, यो रकम पनि बढेर आयोजनाको निर्माण लागत ७२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।

पेनस्टक जडानमा जबर्जस्ती गरेर हुँदैन: कुलमान घिसिङ कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण पेनस्टक जडान प्राविधिक विषय हो, यसमा गुणस्तर र टिकाउको पनि कुरा हुन्छ । त्यसो हुँदा प्राविधिक रूपमा पेनस्टक पाइप जडानले चाहिने जति न्यूनतम समय लिन्छ नै । छिटो गर्नलाई जबर्जस्ती गरेर पनि हुँदैन । जडानमा कुनै त्रुटि नहोस्, भविष्यमा अर्को समस्या नआओस्, कुनै दुर्घटना नहोस् भनेर धेरै कुरा विचार गरेर अघि बढ्नुपर्छ ।

हामीले चौबिसै घन्टा कसरी चाँडो सक्न सक्छौँ भनेर प्रयास गरिरहेका छौँ । जसरी हुन्छ अब २४ घन्टामै सकिदिऊँ भनेर हुने किसिमको आयोजना होइन यो । तर, चालू आर्थिक वर्षको असार मसान्तभित्र पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी नै हामी अघि बढिरहेका छौँ । समय केही बढी लाग्यो भने आयोजनाको लागत पनि स्वाभाविक रूपमा बढ्छ । आयोजना आकर्षक भएकाले सम्भाव्य नै नहुने गरी अस्वाभाविक रूपमा लागत बढ्दैन । नयाँ पत्रिका दैनिकबाट