काठमाडौं। कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौं ल्याइएको विषादीरहित कर्णाली सिमी, फापर, उवाँलगायतका खाद्य तथा अन्न समयमा नै बिक्रीवितरण गर्न नसक्दा राज्यकोषको ढेड करोड बढी क्षति हुने अवस्था आएको छ । ५ वर्षअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको ठूलो परिमाणका खाद्य वस्तुहरू समयमा नै बिक्रीवितरण गर्न नसक्दा कामै नलाग्ने अवस्थामा पुगेका छन् । जसका कारण राज्यकोषको १ करोड ५९ लाख रुपैयाँ गुम्ने अवस्थामा पुगेको हो । ती खाद्य सामग्री अहिले लिमिटिडको थापाथली गोदाममा नै थन्कन पुगेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको तथ्यांकअनुसार ६ सय ७५ क्विन्टल कर्णालीको सिमी बजारमा बिक्रीवितरण हुन नसक्दा कामै नलाग्ने अवस्थामा पुगेको छ । यसैगरी, फापर १ सय ५६ क्विन्टल र १ सय २५ केजी पनि थन्किएको छ । कम्पनीले कर्णालीको सिमी प्रतिकेजी १ सय ३० मा बिक्री गर्दा पनि बिक्री हुन सकेको छैन । कम्पनीको व्यवस्थापकीय क्षमता कमजोर हुँदा कर्णालीबाट ल्याइएका सिमी, फापरलगायतका खाद्य वस्तुहरू प्रभावकारी रूपमा बिक्रीवितरण हुन नसकेका हुन् । यसैगरी कम्पनीले फापर प्रतिकेजी ८० रुपैयाँमा उपलब्ध गराए पनि फापर पनि उल्लेख्य रूपमा बिक्री हुन सकेको छैन ।

कम्पनीले हाल बिक्री गर्दै आएको सिमी र फापरको मूल्यको हिसाब गर्दा १ करोड ५९ लाख मूल्य बराबरको सिमी र फापर बिक्री नभएर गोदाममै थन्किएको हो । यस्तै, कम्पनीका अनुसार १९ लाख ६ हजार २ सय ३० मूल्य बराबरको उवा र फापरको पिठो गोदाममै कुहिसकेको छ । खाद्य कम्पनीको गोदाममा उवा ११ क्विन्टल ७३ केजी र फापरको पिठो १ क्विन्टल ५६ केजी कुहिएको छ । कर्णालीको अमूल्य उवा प्रतिकेजी १ सय ५० मा बिक्री हुने गरेको छ । यता निजी क्षेत्रले सो कर्णाली क्षेत्रमा उत्पादन भएको सिमी प्रतिकेजी २ सय २० देखि २ सय ५० रुपैयाँमा सहज बिक्री गरिरहेका छन् ।
तर, खाद्य कम्पनीले भने निजी क्षेत्रको भन्दा प्रतिकेजी १ सय २० रुपैयाँ सस्तो अर्थात् प्रतिकेजी १ सय ३० रुपैयाँमा समेत बिक्री गर्न नसक्नुलाई कम्पनीको कमजोर व्यवस्थापनका रूपमा हेरिएको छ । कर्णालीका किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णाली विशेष कार्यक्रमअन्र्तगत नेपाल सरकारको अनुदानमा खाद्य कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा कर्णालीमा उत्पादन भएको सिमी फापर र उवा बिक्रीका लागि काठमाडौं ल्याएको थियो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा १ करोड रुपैयाँमा सिमी, फापर र उवा गरी ७८ मेट्रिकटन ल्याएको थियो । सोमध्ये ५० लाख ६ हजार रुपैयाँमा ३९ मेट्रिकटन सिमी, ३४ लाख २८ हजार रुपैयाँमा ३७ मेट्रिकटन फापर र १ लाख ९३ हजार रुपैयाँमा २ मेट्रिक टन उवा ल्याएको थियो ।
यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ५० लाख रुपैयाँमा १ सय ६ मेट्रिकटन सिमी र फापर बिक्रीका लागि ल्याएको थियो । जसमध्ये ७७ क्विन्टल सिमी १ करोड ५ लाख रुपैयाँमा र २९ मेट्रिकटन फापर २८ लाख ४२ हजार रुपैयाँमा ल्याइएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ३५ मेट्रिकटन सिमी १ करोड रुपैयाँमा ल्याइएको थियो । खाद्य कम्पनीले लगातार ३ आर्थिक वर्षमा गरी २ सय १९ मेट्रिकटन सिमी, फापर र उवा बिक्रीका लागि ल्याएको थियो । कम्पनीले बिक्री गर्न नसकेपछि कर्णाली क्षेत्रमा उत्पादन हुने गेडागुडी ल्याउने कार्यक्रम नै रोकिएको छ ।
खाद्यले बेच्न सकेन तर किसानलाई भ्याइनभ्यार्ई: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली सिमी निजी क्षेत्रको भन्दा १ सय २० रुपैयाँ सस्तो दिँदा पनि बिक्री नभएको बताइरहँदा जुम्लाका व्यापारी शिवलाल रावतलाई भने सोही सिमी २ सय ५० रुपैयाँमा बजारमा बिक्री गर्न भ्याइनभ्याई छ । उनी विगत १० वर्षदेखि कर्णाली क्षेत्रमा उत्पादन भएका गेडागुडी सिमी, फापर, उवा, मकै, मार्सी चामललगायत गेडागुडी काठमाडौंकै बजार बिक्री गर्दै आएका छन् । व्यापारी शिवलाल रावत भन्छन, ‘कर्णालीको सिमी प्रतिकेजी २ सय २० देखि २ सय ५० रुपैयाँमा सहजै बिक्री हुन्छ ।
दाना सिमी प्रतिकेजी २ सय २० र दालको सिमी प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री गर्छु । प्रतिकेजी २ सय ५० रुपैयाँभन्दा पनि कुनै उपभोक्ताले समेत महँगो भयो भन्दैनन्,’ उनले भने । ‘यसैगरी तितेफापर प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँ र उवा प्रतिकेजी २ सय रुपैयाँमा सहजै बिक्री हुने गरेको उनले बताए । रावत भने, ‘कर्णाली क्षेत्रमा उत्पादन भएका गेडागुडी अन्य क्षेत्रमा उत्पादन भएका गेडागुडीको तुलनामा विषादीरहित नै छ ।
त्यसकारण बजारमा कर्णालीमा उत्पादन भएको गुडागुडीको माग बढ्दो छ ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले कर्णालीको अमूल्य विषादीरहित सिमी, फापर र उवा कम्पनीले बजारीकरण गर्न नसक्दा बिक्री हुन नसकेको स्विकारिन् । कम्पनीले सुरुदेखि नै बजारमा प्रचारप्रसार गरेर बिक्रीवितरण गरेको भए अहिले गोदाममा थन्काउनुपर्ने थिएन,’ सुवेदीले भनिन् । राजधानी दैनिकबाट












