११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई



अ+ अ-

काठमाडौं । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गर्नुभएको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ को सो पुरस्कार सर्जक मानन्धरलाई अर्पण गर्नुभयो ।

करिब पाँचदशकदेखि अविछिन्नरूपमा विभिन्न रङमा पोख्त सर्जक मानन्धरले कला सिर्जना गरिरहनुभएको छ । उहाँले सिर्जना गर्नुभएको कलाका विविध सौन्दर्यले नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट चिनारी दिइराखेको छ ।

माछापुच्छे हिमाल र फेवातालको मनमोहक कलालाई विभिन्न रङले चित्रमा उतार्न औधी खप्पिस कलाकार कायस्थ मोफसलमा अग्रणी कलाकार हुनुहुन्छ । समुद्रको तटदेखि हिमालपारिसम्मको चित्रकला समेट्नुभएका कलाकार कायस्थका कला स्वदेश र विदेशमा गरी हालसम्म १२ औँ पटक प्रदर्शनी भइसकेका छन् ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले भन्नुभयो, “विशेषगरी पोखराको सौन्दर्यलाई चित्रकलाका माध्यमबाट कलाकार कायस्थका सिर्जनाले अतुलनीयरूपमा चिनाएका छन् । उहाँका कलाकारितालाई कलाका पारखीले त चिनेका छन् । अब सरकारले चिन्न सक्नुपर्छ ।” उहाँले आधुनिक चित्रकलामा इतिहास सटिकरूपमा लेख्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

पुरस्कृत व्यक्तित्व मानन्धरले प्रकृति, हिमाल र जलको उत्कृष्ट सङ्गमस्थल पोखरामा रही कलाकार कायस्थले सिर्जना गर्नुभएको कला आधुनिक पुस्ताका लागि विश्वविद्यालय बन्न सक्ने चर्चा गर्दै आफू पहिलो पटक काठमाडौँदेखि पैदल हिँडेर पोखरा पुगेको स्मरण गर्नुभयो ।

पूर्व मुख्यसचिव केशवराज राजभण्डारीले कलालाई जीवनको सौन्दर्य र जीवनको सौन्दर्यलाई कलामा ढाल्न आफ्ना बालसखा कलाकार कायस्थ खप्पिस रहनुभएको टिप्पणी गर्नुभयो ।

नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलाकार कायस्थका कलाले पोखराको सौन्दर्यका साथमा मानवीय जीवनका विविध क्षेत्रलाई सटिकरूपमा उतारेको छ भन्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर गुरुङले कलाको माध्यमबाट जीवनलाई उत्साहित बनाउन कलाकार कायस्थका कलाले जोड दिएको चर्चा गर्दै प्रतिष्ठानले पहिलोपटक वरिष्ठ कलाकार मानन्धरलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एवं कलासमीक्षक सूर्यचन्द्र बस्नेतले भन्नुभयो, “प्रकृतिका अनुपम छटा, मानवीय संवेदना र जीवन जगतका आयमलाई सूक्ष्मरूपमा चित्रकलमा उतार्न कलाकार कायस्थ सिपालु हुनुहुन्छ, उहाँका सिर्जना यसै सेरोफेरोमा छन्, उत्कृष्ट छन् ।”
अर्का कलासमीक्षक सु्ष्मा राजभण्डारीले चित्रकलालाई निरन्तरता दिन सजिलो नुहँदा पनि मोफसलमा रही कलाकार कायस्थ निरन्तरत छ दशकदेखि यसैमा तल्लिन हुनु पोखरा र देशमा लागि गौरवको विषय हो भन्नुभयो । कलाकार कायस्थका १३ औँ चित्रकला प्रदर्शनी आजदेखि बुधबारसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा शुरु भएको छ ।