काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
बि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउँदै आएको छ ।
पोखराको सभालाई सम्बोधन गरि चितवन तर्फ जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा भण्डारी र आश्रित दुर्घटनामा पर्नु भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित हुनु हुन्थ्यो ।
लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आउनु भएको छ ।
भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लाग्नु भएको थियो । उहा तत्कालीन नेकपा मालेको केन्द्रीय पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बन्नु भएको थियो ।विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला सन ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नु भएको थियो ।
डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल हुनुभएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल मार्क्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।उहाँले २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नु भएको थियो ।












