काठमाडौँ । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको चारदिने राजकीय भ्रमणमा आएका हुन् । राष्ट्रपति हमिदसँग उनकी पत्नी रसिदा हमिद पनि छन् ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरिन् । राष्ट्रपति हमिदलाई विमानस्थलमा नेपाली मौलिक पोसाकमा सजिएका पञ्चकन्याले परम्परागत तवरबाट फूलमालाले स्वागत गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीको आतिथ्य स्वागतसँगै अतिविशिष्ट अतिथिलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान प्रहरी प्रमुखले स्वागत गरेका थिए । अतिविशिष्ट कक्षमा देशको सामाजिक सांस्कृतिक झल्को दिने नृत्य प्रस्तुत गरिएको थियो । विद्यार्थीको छुट्टै समूहले दुई देशको झन्डा फहराउँदै खुसी व्यक्त गरेका थिए ।
समृद्धमा सहयोग: राष्ट्रपति हमिदसँग मङ्गलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गरे । शिष्टाचार भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको थियो । बङ्गलादेशका राष्ट्रपति हमिदले नेपालको न्यानो स्वागतका लागि नेपाली जनता र सरकारलाई धन्यवाद व्यक्त गरे । भेटका अवसरमा नेपालको पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको जानकारी परराष्ट्रमन्त्री ज्ञवालीले दिए ।
“दुई देशबीच व्यापार प्रवद्र्धन र सहयोगका विषयमा हामीले कुराकानी गर्यौ”, मन्त्री ज्ञवालीले भेटपछि भने, “बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालले पुर्याएको सहयोग र बङ्गलादेश स्थापना भएलगत्तै मान्यता दिने सातौँ राष्ट्रका रूपमा रहेकाले नेपालसँग असाध्यै घनिष्ठ र भावनात्मक सम्बन्ध छ । ” “भेटमा नेपालको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न बङ्गलादेश हरक्षेत्रबाट सहयोग गर्न तयार छ, दुवै देश मिलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि उनले बताए”, मन्त्री ज्ञवालीले थप्दै भने, “हामीले सार्क, बिम्स्टेक, संयुक्त राष्ट्रसङ्घ लगायत क्षेत्रीय मञ्चहरूमा एकआपसका सहयोगलाई अझै घनिष्ठ बनाउँदै लैजाने विषयमा थप कुरा भए । ”
मन्त्री ज्ञवालीले राष्ट्रपति हमिदलाई आगामी अप्रिलमा नेपालले सगरमाथा संवाद र जलवायु परिवर्तनको समस्या समाधान गर्न मिलेर सहकार्य गर्नका निम्ति आग्रह गरे । उनले सगरमाथा संवादमा सहभागी हुन बङ्गलादेशका तर्फबाट उच्चस्तरीय सहभागिताका लागि पनि निमन्त्रणा गरे । दुई देशको घनिष्ठताका कारण नेपालको पर्यटन वर्षमा पर्यटक बढ्ने विश्वास राष्ट्रपतिले दिलाए । यति बेला बङ्गलादेश र ढाकाबीच मात्र हवाई उडान हुने गरेकामा अब त्यसलाई वृद्धि गर्न सकिने सम्भावना उनले व्यक्त गरे ।
त्यस्तै बङ्गलादेशमा चिकित्सा शिक्षा लिन जाने विद्यार्थीलाई दिइँंदै आएको एक वर्षको भिसालाई वृद्धि गरेर चार वर्ष पुर्याउने प्रक्रिया भएको भन्दै पाँच वर्ष पढाइ गर्नेलाई त्यति नै वर्षको भिसा दिने व्यवस्था गर्ने विषयमा उनले आश्वस्त पारे । नजिकका छिमेकीका नाताले ऊर्जा, विद्युत्, यातायात र प्रविधिको सञ्जालमा जोडिएर अगाडि बढ्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका थिए।
उच्चस्तरीय भेटवार्ता तय: भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच बुधबार उच्चस्तरीय भेटवार्ता हुने भएको छ । अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ । बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ । रात्रिभोजअघि बुधबार अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछ । बिहान ११ः१० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीसँग शिष्टाचार भेट गर्ने तय भएको छ ।
रात्रिभोजअघि बुधबार अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछ । बिहान ११ः१० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीसँग शिष्टाचार भेट गर्ने तय भएको छ । गोरखापत्र दैनिकबाट












