काठमाडौं। दक्षिण एसिया क्षेत्रीयस्तरको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सार्क स्तरीय पूर्वतयारी बढाउन विज्ञहरूले सुझाव दिएका छन् । सार्क क्षेत्रका सदस्य राष्ट्रका प्रतिनिधि, रेडक्रस प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघीय र साझेदार निकायका विज्ञहरूले पूर्वतयारीलाई विशेष ध्यान दिन सुझाएका हुन् । विपद्का दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा रहेको दक्षिण एसियामा मौसम परिवर्तन र तापमान वृद्धिका कारणले मानिस अझ समस्यामा पर्न सक्ने भएकाले सार्क क्षेत्रमा द्रुत प्रतिकार्यसम्बन्धी ठोस कार्य गर्नुपर्ने आवश्यकता औैंल्याइएको छ ।
प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्यसम्बन्धी सार्क सदस्य राष्ट्रबीचको सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्न सार्क सचिवालय र रेडक्रस महासंघले यस्तो प्रस्ताव अघि सारेको हो । राष्टिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले जोखिम न्यूनीकरणका लागि सार्क राष्ट्रले साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिए ।

‘आवास तथा पूर्वाधार निर्माणमा नयाँ प्रविधि अपनाउने र स्थानीय बासिन्दा तथा स्थानीय तहले नै विपद् व्यवस्थापनको जिम्मेवारी लिने अवस्थामा नेपाल अगाडि बढिरहेको छ,’ उनले भने, ‘विपद्मा जुट्नेभन्दा विपद्पूर्व नै जोखिम न्यूनीकरणको उपाय कार्यान्वयनमा ल्याऔं ।’ नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका सरकारी प्रतिनिधिले जोखिम न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने बताए ।
सार्क सचिवालय, सार्क खाद्य बैंक, यूएन ओचा, विश्व खाद्य कार्यक्रम, एडीपीसी, युनिसेफ नेपाल, आईसीआरसी नयाँ दिल्ली क्षेत्रीय कार्यालय र स्विस रेडक्रसका प्रतिनिधिले समेत जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन् । प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्यसम्बन्धी सार्क सदस्य राष्ट्रबीचको सम्झौताको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सबै सदस्य देशमा कानुनी र नीतिगत तयारी गर्ने निष्कर्ष निकालेका छन् ।
यस्तै, सार्क क्षेत्रका सदस्यले एकआपसको सिकाइलाई थप ध्यान दिन तथा सूचना, सञ्चार र चेतना वढाउन आह्वान गर्ने सहमति जुटाएका छन् । विपद पूर्वतयारी र अल्पीकरणमा सार्क सचिवालयले रेडक्रस महासंघसँग मिलेर कार्यगर्ने बताउँदै सार्कका महासचिव अम्जाद हुसेन वि सियलले सार्क क्षेत्रीयस्तरमा विपद्ले पार्ने प्रभावको अध्ययन भइसकेको र सबै सदस्य देशबीच वातावरण संरक्षण तथा विपद् व्यवस्थापनको क्षेत्रमा स्रोतको सहभागिता गर्दै पृथ्वीलाई राम्रो बनाउने सहमति गरिएको जानकारी दिए ।
बढ्दो सहरीकरणका बीच पानीको नजिक रहेका दक्षिण एसियाका मुख्य सहर जलवायु परिवर्तनका कारण बढी जोखिममा रहेको रेडक्रस महासंघका निर्देशक जेभिएर कास्टेलानोजले बताए । उनले विकाससँग विपद् पनि जोडिएकाले बाटो, बन्दरगाह, पुललगायतका भौतिक पूर्वाधार राम्रो बनाउन सके विपद्को समयमा सहयोग गर्न सघाउ पुग्ने बताए । यूएन ओचा एसिया प्रशान्त क्षेत्रीय कार्यालयका प्रमुख अमी मार्टिनले समुदायलाई केन्द्रमा राखी विकास प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
सार्कस्तरीय विपद् जोखिम न्यूनीकरणका लागि उनीहरूले सार्क घोषणाको तयारी गरिरहेका छन् । उनीहरूले सार्क क्षेत्रको जोखिम न्यूनीकरणका लागि उचित कार्यान्वयनमा विशेष जोड दिएका छन् । उनीहरूले सूचना, सञ्चार र जनचेतना बढाउन सहमति गरेका छन् । यसैगरी समन्वय र सूचना सम्प्रेषणलाई चुस्त बनाउन हरेक राष्ट्रले तत्काल फोकल प्वाइन्ट तोक्ने तयारी गरिएको छ । सार्क स्तरमा विपद्सम्बन्धी मुख्य केन्द्रका रूपमा सार्क विपद् व्यवस्थापन केन्द्रको औपचारिक स्थापना र क्षमता वृद्धि गर्ने निर्णय गरिएको छ ।
यसैगरी, सार्कस्तरमा जोखिम न्यूनीकरणका लागि इन्फोग्राफिक्स, श्रव्यदृश्य सामग्री तथा सामाजिक सञ्जालजस्ता माध्यमबाट सरोकारवाला र जनसमक्ष सूचना सम्प्रेषण गर्ने संयन्त्रको विकास हुने भएको छ । क्षमता विकास र सिकाइको पक्षमा जोड दिन संयुक्त रूपमा क्षमता अभिवृद्धिका गतिविधि गर्ने तयारी गरिएको छ । सम्बन्धित देश र रेडक्रसको अन्तक्र्रियामा अभिवृद्धि गर्ने तयारी गरिएको छ । क्षेत्रीयस्तरमा कृत्रिम अभ्यासको आयोजना गरी पूर्वतयारी गर्ने भएको छ ।
यसैगरी, आन्तरिक र क्षेत्रीय नीतिनियमको सुदृढीकरण गर्नका लागि सार्कस्तरीय विपद्सम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय मार्गनिर्देशनअनुसार हरेक मुलुकले नीतिनियमको नक्सांकन, विश्लेषण र मूल्यांकन गर्ने सहमति जुटेको छ । यस्तै, नीतिनियमको नक्सांकन, विश्लेषण र मूल्यांकनमा सम्बन्धित देशका सान्दर्भिक मन्त्रालय र प्राधिकरणको सहभागिता बढाइने भएको छ । नीतिनियमको नक्सांकन, विश्लेषण र मूल्यांकनजस्ता क्षेत्रमा रेडक्रस महासंघले प्राविधिक सहयोग गर्ने भएको छ । राजधानी दैनिकबाट












