२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्ने भयो रानीपोखरी, माघ दोस्रो साताबाट पानी भरिने



अ+ अ-

काठमाडौं । रानीपोखरीमा माघ दोस्रो साता पानी हालिने भएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि रानीपोखरी पानीविहीन छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीको पुनर्निर्माण गरिरहेको छ । पुस अन्तिमसम्ममा पोखरीमा कालो माटो राखिसक्ने र त्यसमाथि इँटा राखेर पानी हालिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कालो माटो राख्ने काम सुरू गरिसकेको छ । ‘कालोमाटो राख्ने काम सुरू भइसकेको छ ।

त्यसमाथि इँटा राख्ने काम पनि सँगै भइरहेको छ,’ प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले भने, ‘पुसको अन्त्यसम्म माटो र इँटा बिछ्याउने काम सकिन्छ । माघको दोस्रो सातासम्म पानी हाल्ने तयारीमा छौँ ।’ रानीपोखरीमा माटो हाल्ने र प्रताप मल्लको पालाको पर्खाल बनाउने काम उपभोक्ता समिति मार्फत भइरहेको छ ।

त्यसका लागि १५ करोड बजेट छुट्याइएको छ । पोखरीमा पर्खाल लगाउने काम करिब ८० प्रतिशत सकिएको छ । माटो राख्ने काम भने साढे पाँच प्रतिशत सकिएको मानन्धरले जानकारी दिए । भक्तपुर, मध्यपुर थिमि र साँखुबाट कालो माटो ल्याएर बिछ्याइएको प्राधिकरणले जानकारी दिएको छ ।

यसरी भरिनेछ पानी:पानी भर्न पोखरी परिसरमै दुई ठाउँमा बोरिङ गरिने भएको छ । टुँडिखेलमा रहेको इनारको पानीसमेत पोखरीमा लगिनेछ । प्राधिकरणले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)सँग एक डेडिकेटेट लाइन रानीपोखरीका लागि उपलब्ध गराउन आग्रह गरिरहेको मानन्धरले जानकारी दिए ।

मन्दिर र पुलको काम ठेकेदार कम्पनीमार्फत:बालगोपालेश्वर मन्दिर र पुल निर्माण तथा सौन्दर्यीकरणको काम ठेकेदार कम्पनीमार्फत भइरहेको छ । शिखर शैलीमा बनाउन लागिएको मन्दिर निर्माणको जिम्मा गत २४ असारमा प्राधिकरणले लिएर तुलसी जेभीलाई दिएको थियो ।

१० महिनामा सक्ने गरी करिब १० करोडमा ठेक्का सम्झौता भएको ५३ फिट अग्लो मन्दिरको जगको काम सकिएको छ । यस्तै, पुलको पर्खाल निर्माण गर्ने कामसमेत धमाधम भइरहेको छ । सौन्र्दयीकरणका लागि विद्युत् जडान गर्नेलगायतका कामसमेत भइरहेको मानन्धरले बताए । २ माघ ०७२ मा राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पदा पुनर्निर्माणको सुरूवात रानीपोखरीबाटै गरेकी थिइन् ।

०७३ को भाइटीकाको दिन मन्दिर खोल्ने गरी शिलान्यास गरिएको थियो । तर, शिलान्यासको चार वर्ष बितिसक्दासमेत रानीपोखरी पुनर्निर्माणको काम सकिएको छैन । रानीपोखरी पुनर्निर्माणको जिम्मा सुरूवातमा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, विवादका कारण पुनर्निर्माण अघि बढ्न नसकेपछि गत १४ माघको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई दिएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.संं. १७२७ मा रानीपोखरीको निर्माण गराएको इतिहास छ ।

कामको रफ्तार बढाइयो: कालो माटो ल्याएर खुट्टाले मुछेर बिछ्याउँदा काममा ढिलो भएको भन्दै अहिले शैली नै परिवर्तन गरेर काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । कामको रफ्तार बढाउन माटो मुछ्न मेसिनको प्रयोग गर्न थालिएको छ । ‘खुट्टाले माटो मुछ्दा वर्षौँ लाग्ने देखियो । त्यसैले मेसिनको प्रयोग गरेका छौँ । अहिले काम तीव्र गतिमा भइरहेको छ,’ शाक्यले भने ।पोखरीमा माछासमेत हाल्ने योजना भएकाले माटोमाथि इँटा बिछ्याइएको शाक्यले जानकारी दिए ।

पर्खाल निर्माणका लागि भने ‘मा’ ‘आप्पा’ (प्रताप मल्लकालीन) इँटा प्रयोग गरिएको छ । ‘रानीपोखरी पुनर्निर्माणमा प्रताप मल्लकालीन शैली, स्वरूप र सामग्रीको प्रयोग गरेका छौँ,’ मानन्धरले भने, ‘विशेष अर्डर गरेर सामान आपूर्ति गरेका छौँ ।’ नयाँ पत्रिका दैनिकबाट