२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक



अ+ अ-

चितवन । नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ । नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भने दुर्लभ एकसिङे गैँडा आफैँ पर्यटकलाई आकर्षित गर्दैछन् । चितवन राष्ट्रिय निकुञ्ज छोएर बग्ने राप्ती नदी किनारमा रहेको सौराहामा पर्यटक आउने सिजनसँगै जङ्गलबाट पर्यटक नगर विचरण गर्ने दुर्लभ गैँडाको सङ्ख्या पनि बढ्दै गएको छ ।

बिहीबार बिहान जर्मनी, अमेरिका, बेलायत, भारतलगायत देशबाट सौराहा घुम्न आएका पर्यटकले जङ्गल नै नपसी नगरमै दुर्लभ गैँडा अवलोकन गर्न पाए । जङ्गल सफारीमा जाने तरखर चल्दै गर्दा ठूलो भाले गैँडा एकाबिहानै नगर पसेपछि पर्यटकले सफारी जाने जिप छाडे । होटलका पर्खाल र सुरक्षित स्थानबाट खेतमा पसेको गैँडा हेरे । फोटोमा दुर्लभ एकसिङे गैँडालाई कैद गरे । कतिले सेल्फी पनि खिच्न भ्याए । धान काटिसकेको बाँझो खेतका छेउछाउ र होटलका तारबारबाट लर्किरहेका हरिया लहरा, रूखका डालीलाई आहरा बनाउँदै गैँडा अगाडि बढ्यो ।

“यता फर्क यता फर्क”, जर्मन नागरिकले आफ्नै भाषामा भन्दै थिए, “धेरै यता नआऊ है, फेरि मलाई सिङले घोप्लाऊ नि । ” विदेशी पर्यटक बोलाउँदै गैँडा अवलोकन गराउन तल्लीन पर्यटन व्यवसायी शिरलाल परियारले पर्यटकले बोलेका कुरा उल्था गरेर सुनाए । गैँडा नगर पसेपछि पर्यटकलाई निकै सहज भएको उनी बताउछन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसँगै सौराहाको पर्यटन प्रवद्र्धनमा गैँडाले सघाइरहेको परियारको भनाइ छ । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीकाराम गिरीले यसरी दुर्लभ गैँडा पर्यटन नगरमा पस्दा स्थानीयवासीले संरक्षण गर्दै पर्यटक आकर्षण गर्ने प्रयास गरिरहेको जानकारी दिए ।

“तीनवटा गैँडा दिनभरि नगर र जङ्गल छेउको आहालमा खेल्छन् अनि साँझ परेपछि नगर भ्रमणमा निस्कन्छन्”, गिरीले सुनाए, “रातमा पनि पर्यटक खान भुलेर गैँडा हेर्दै रमाउँछन् । ” केही वर्षअघि एकदुईवटा गैँडा सौराहा पस्दा पर्यटकमा त्रास पलाउँथ्यो । नजिक पर्ने जमर्को कमै गर्थे । “यसपाला त पाँचवटा गैँडा सौराहामा पालैसँग आउने गर्न थालेका छन्”, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले भने, “खाना खोज्नकै लागि “गाउँ डुल्न आएका हुन् । ”

ठूला गैँडा सहर पस्दा साना गैँडा भने जङ्गल छेउतिरै बस्ने गर्छन् । जब ठूला गैँडा जङ्गल पस्छन् तब साना गैँडा निर्धक्क सहर डुल्ने अनुभव अर्यालले सुनाए । उनले भनेजस्तै ठूलादेखि साना गैँडाको लस्कर बजारदेखि खेतबारीसम्म नै लाग्ने गरेको छ । उनका अनुसार मेघौली र मङ्गलपुर नामको साना भाले गैँडा भने उद्धार गरेर कोषले नै संरक्षण गरिरहेको छ । अन्य तीनवटा भाले गैँडा भने मीठो घाँसको खोजीमा डुल्ने गरेका छन् । स्वभावअनुसार साना गैँडा ठूला गैँडादेखि डराउने अर्यालले बताए । प्रायः कोषको चउर र आसपासका जङ्गल छेउ चर्ने साना गैँडा पर्यटकको विशेष रोजाइमा पर्छन् ।

साना भएसँगै मानिससँग घुलमिल भएकाले पनि नडराई बस्छन् । यसका कारण सौराहा पुग्ने विदेशी र स्वदेशी पाहुनाका सेल्फी र फोटोका आकर्षण बन्ने गरेका छन् । जङ्गलबाट पस्ने गैँडालाई भने पर्यटकले सुरक्षा घेराबाटै नियाल्ने गर्छन् । त्यसरी जङ्गल पस्ने गैँडालाई नेपाली सेना, चितवन निकुञ्जका कर्मचारी र कोषका कर्मचारीको निगरानीमा राखिने गरिएको छ । चञ्चले स्वभावका साना गैँडाले बालबालिकालाई समेत आकर्षित गर्ने गरेका छन् ।

“कहिले साँझ र कहिले बिहानै राप्ती खोला तरेर गैँडा सौराहा पस्छ”, कोषका कर्मचारी सन्तोष भट्टराईले भने, “पर्यटक पनि गैँडा कहिले देखिएला भनेर कुरेरै बस्न थालेका छन् । ” उनका अनुसार सौराहा बजारको कालोपत्रे सडक हुँदै डुल्ने गैँडाका वरपर सुरक्षा घेरा बनाइने गरिएको छ । राति र दिउँसो पालो मिलाएर सुरक्षा व्यवस्था गरिएको छ । सौराहामा दुर्लभ गैँडा सहजै देखिन थालेपछि सौराहा आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको अनुमान पर्यटन व्यवसायीले गरेका छन् । गोरखापत्र दैनिकबाट