२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूतसंगै चिनियाँ राजदूत यान्छीले पनि नेपाललाई दिए तिहारको शुभकामना



अ+ अ-

काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि शुभकामना दिइन्।बेलायती राजदूत रिचार्ड मोरिसले भने अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामै शुभकामना दिए। अमेरिकी राजदूतले कार्यकालको पहिलो वर्ष पूरा भएको खुसी ट्विटरबाट बाँडेको भोलिपल्टै तिहारको शुभकामना दिए।

उनले कुकुर तिहारको दिन निवासमा कुकुरलाई माला लगाएर डुलाएको तस्बिर राख्दै शुभकामना दिएका थिए। त्यसपछि उनले हरेक दिन (लक्ष्मीपूजा, गोवद्र्धन तिहार, म्हपूजा र भाइ टीका) को शुभकामना दिँदै तस्बिर राखे। निवासमा रंगोली आफैंले बनाइरहेको तस्बिरसमेत राखे। तीन महिनादेखि ट्विटर चलाउन थालेकी चिनियाँ राजदूत होऊले कात्तिकमा हिमालयन एअरलाइन्सको पहिलो बेइजिङ उडानको ट्विट गरिन्।


रंगोली बनाएर दियो बाल्दै अमेरिकी राजदूत र्‍यान्डी बेरी

त्यसको भोलिपल्ट (लक्ष्मीपूजाको दिन) तिहारको शुभकामना दिइन्। ‘तिहारको उज्यालोले नेपाल–चीन मित्रता उचाइमा पुगोस्। सबै नेपाली साथीहरूलाई तिहारको शुभकामना,’ उनले नेपाली र अंग्रेजी दुवै भाषामा ट्विट गरेकी छन्। राजदूत बेरीले भने लगातार ट्विट गर्दै रंगोली बनाउने, भाइटीका लगाउने लगायत देउसी खेलेको तस्बिर राखे।

‘मलाई देउसीको शब्द राम्रोसँग उच्चारण गर्न त आउँदैन तर म देउसीको टिममा जोडिएर देउसी खेल्न रमाउँछु,’ बेरीले लखेका छन्, ‘अमेरिकी दूतावासको युथ काउन्सिल टिमले यो देउसी जुराएकोमा धन्यवाद छ। भन भन भाइ हो देउसी रे। शुभ म्ह पूजा।’ बेलायती राजदूत रिचर्ड मोरिसले नेपाली र अंग्रेजी दुवै भाषामा ट्विट गरेका छन्। ‘तिहार प्रकाश र फूलहरूको पर्व हो। प्रज्वलित दीपले काठमाडौैं र नेपाललाई सुन्दर बनाउनेछ।

सबैमा तिहारको शुभकामना,’ कार्यकाल सकेर फर्कने तयारीमा रहेका बेलायती राजदूतले लेखेका छन्। नेपालमा रहेका राजदूतहरूले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रूपमा ढाल्ने प्रयास गरिरहेका छन्। उनीहरूले हरेक चाडपर्वबारे यसैगरी शुभकामना दिँदै आएका छन्। पहिला–पहिला निवासमा नै बोलाएर रमाइलो गर्ने राजदूतहरूले अहिले ट्विटमार्फत जानकारी दिन थालेका हुन्।

अमेरिकी राजदूतले मात्र होइन दूतावासका अन्य अधिकारीले पनि भाइटीका लगाएको तस्बिर राखेर यसको महत्वलाई झल्काएका छन्। अमेरिकी दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले आफ्ना सानो भाइ जस्टिनसँग भाइटीका लगाएको तस्बिर राखेकी छिन्। उनले आफ्ना छोराछोरीबीचमा पनि भाइटीका लगाएको तस्बिर सार्वजनिक गरिन्। नेपाली संस्कृतिमा रमाउन पाउँदा खुसी लागेको उनको भनाइ छ।

यसरी सम्मान देखाउन पछिल्लो समय अमेरिका र चीनबीच प्रतिस्पर्धाजस्तै देखिन्छ। चिनियाँहरू यस प्रकारको सामाजिक सञ्जालबाट टाढा रहन खोज्छन्। तर पछिल्लो समयमा देखिन थालेका छन्। गत जुनदेखि ट्विटर चलाउन थालेकी चिनियाँ राजदूत आफ्नै मुलुकको वाइपो, विच्याट, क्युक्युमा रम्थिन्। अमेरिकी भने आफ्नो सबै काम ट्विटरमार्फत सार्वजनिक गर्छन्। अमेरिकी राजदूतले आफू राजदूत भएर नेपाल आएको एक वर्षमा गरेको अनुभवको भिडियो ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

उनले भनेका छन्, ‘नेपालमा मैले एउटा पनि खराब दिन बिताएको छैन। म आएदेखि नेपालको विभिन्न भाग घुम्ने गरेको छु। यहाँ मैले विलक्षण मानिससँग भेटें अनि रमाएँ।’ इलाममा स्वादिलो चिया पिएको प्रसंगदेखि नेपालगन्जमा विश्व स्तरको बिरयानी खाएको प्रसंगसम्म उनले उठाएका छन्। उनले मिठो मम र दालभात खाएको स्मरण गरेका छन्। अंग्रेजीमा राखिएको छोटो भिडियोमा उनले नेपालीमा सबटाइटलसमेत दिएका छन्।

नेपालका विभिन्न स्थानमा घुमेको र बृहत् सांस्कृतिक तथा धार्मिक विविधताबारे अनुभव हासिल गर्न पाएको उनको भनाइ छ। उनले भनेका छन्, ‘यहाँ एक वर्ष बितेको पत्तो नै पाइएन। सदाशयता, संकल्प सौहार्दले थप उत्साहित गरेको छ।’ नेपालमा विगत ७० वर्षदेखि स्वास्थ्य, शिक्षा, भविष्य र स्वतन्त्रता निम्ति सहयोग गर्दै आएको उनको भनाइ छ। राजदूत बेरीले युवाहरूको व्यावसायिकता र उद्यमशीलतामा जोड दिँदै आएका छन्।

पछिल्लो समय भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि कहिलेकाहीं ट्विट गर्नेमा पर्छन्। तर उनले भने दुईपक्षीय सहयोग र विभिन्न कार्यक्रमको मात्र ट्विट गरिरहेका हुन्छन्। उनको प्रेस सेक्सनले पत्रिकासँग अन्तरक्रिया गरेको पाइए पनि सामाजिक सञ्जालमा कम उपस्थिति देखाउँछन्। अमेरिका र चीनले भने यसमा बाजी मारेको देखिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो टिम नै राखेर सामाजिक सञ्जालमा छाएका हुन्छन्।

पूर्वराजदूत तथा शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले कूटनीतिमा ‘पब्लिक डिप्लोम्यासी’ (सार्वजनिक कूटनीति) निकै महत्वपूर्ण पाटोमा आएको बताए। ‘पब्लिक डिप्लोमेसीको एक पाटो नै कलासंस्कृति हो। राजदूतहरूले देखाउने चासोले साँच्चै महत्व राख्छ,’ उनले भने। अन्नपुर्णपोष्ट दैनिकबाट