काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा राखेर विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमतिविना ठूलो पर्दामा नदेखाउन सचेत गराएका छन्।
सूचनाअनुसार खेलको प्रत्यक्ष प्रसारण गर्न इच्छुक संघसंस्था वा कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पूर्वस्वीकृति लिनुपर्नेछ । स्वीकृतिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।
‘फिफा विश्वकप फुटबल २०२६ का खेलहरू काठमाडौँ जिल्लाभित्र सामूहिक रुपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले यस कार्यालयबाट पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।
अनुमति लिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट राखिएको जनाएको छ। निवेदन दिएपछि पनि शर्तहरू पालना हुने नहुने यकिन गरेर मात्रै अनुमति दिइने सूचनामा उल्लेख छ।
अनुमतिविना खेल देखाएको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सचेत गराएको छ।













