काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (क्ब्ऋभ्ए) का महानिर्देशक नर्बु वाङ्चुकले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग, वायु प्रदूषण नियन्त्रण र प्लास्टिक व्यवस्थापन सम्बन्धमा भएका क्षेत्रीय पहललाई सुदृढ बनाउने तथा नेपालमा विशेषगरी प्लास्टिक प्रदूषण तथा फोहरको दीर्घकालीन व्यवस्थापन प्रणाली सुधार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
छलफलमा प्लास्टिक फोहर व्यवस्थापन, वायु गुणस्तर सुधार तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि नयाँ परियोजना ल्याउने तयारी भइरहेको महानिर्देशक वाङ्चुकले जानकारी गराउनुभयो ।
सीमापार वायुप्रदूषण र नदी प्रणालीमा हुने प्रदूषण समाधानका लागि क्षेत्रीय राष्ट्रहरुले एकापसमा सहकार्य र समन्वय गर्नुपर्ने तथा भुटान र नेपालजस्ता साना राष्ट्रहरुले क्षेत्रीय सङ्गठनमार्फत आफ्ना मुद्दाहरु प्रभावकारी रूपमा ठूला राष्ट्रहरुमाझ उठाउँदा प्रभावकारी हुने भएकाले क्षेत्रीय बैठकका लागि पहल गर्न मन्त्री चौधरीलाई उहाँले अनुरोध गर्नुभयो ।
त्यसैगरी, जुलाई ८ र ९ मा माल्दिभ्समा हुन गइरहेको ‘माले डिक्लरेशन’ पुनरुत्थानसम्बन्धी बैठकमा आगामी पाँच वर्षका लागि वायु गुणस्तर सुधारसम्बन्धी कार्ययोजना बनाइने भएकाले उक्त कार्यक्रममा नेपालबाट प्रतिनिधित्वका लागि महानिर्देशक वाङ्चुकले मन्त्री चौधरीसँग आग्रह गर्नुभयो । रासस












