काठमाडौँ। नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, डाँका चोरी मुद्दाका फरार दोलखा शैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।
उक्त मुद्दामा नक्खु कारागार ललितपुरमा ५ वर्ष कैद सजाय भुक्तान गरिरहेको अवस्थामा गत भदौ २४ को आन्दोलनका क्रममा भागी फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले दाङको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । उनीहरुका साथबाट २१४ ग्राम पहेँलो धातु बरामद गरिएको हो ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलीप परियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषामा एक मिनिट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक रामभरत मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मिनिट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, बागलुङ, ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित सडकमा बोबाङबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर गएराति दुर्घटना हुँदा चालक आशिक घर्ती मगरको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस












