५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा सांसद भरत गिरीले उक्त घटनाबारे सरकारसँग औपचारिक जवाफ माग गर्नुभएको हो।

सांसद गिरीका अनुसार जुन १३ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा हतियारसहितका भारतीय एसएसबी जवानहरू बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेका थिए। स्थानीय किसानले प्रतिरोध गर्दै उनीहरूलाई फर्काएको उहाँले बताउनुभयो।

उहाँले राज्यको कमजोर उपस्थिति कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरू आफैं सुरक्षा गर्न बाध्य भएको टिप्पणी गर्नुभयो। “सरकारको उपस्थिति होस् वा नहोस्, देश जोगाउन देखाइएको स्थानीयको साहस सम्पूर्ण नेपालीका लागि प्रेरणादायी छ,” उहाँले भन्नुभयो।

सांसद गिरीले पूर्वको पशुपतिनगरदेखि पश्चिमको महाकालीसम्म फैलिएको नेपाल–भारत खुला सीमामा बसोबास गर्ने लाखौं नागरिकको सुरक्षा र राज्यको दृष्टिकोणबारे प्रश्न उठाउनुभयो। साथै, सुस्ता घटनालाई मात्र नभई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादसँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले सीमामा यस्ता घटना दोहोरिन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न, सीमा विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा आगामी नेपाल–भारत परराष्ट्रस्तरीय बैठकहरूमा स्पष्ट रूपमा उठाउन सरकारसँग माग गर्नुभयो।

सांसद गिरीले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले सीमामा खटिरहेका स्थानीयको योगदानको अपमान भएको जस्तो देखिएको भन्दै सरकारको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने पनि बताउनुभयो।

सुस्ताका स्थानीय किसानले राष्ट्रिय स्वाभिमान र भूगोलको रक्षा गर्न देखाएको साहस प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले उनीहरूको योगदानको सम्मान हुने गरी राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो।