काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदको दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसदमा आफूहरुले त्यसको विरोध कार्यलाई जारी राख्ने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा उहाँले प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने आफूहरुको माग सम्बोधन नभएसम्म विपक्ष दलहरुले विरोध जारी रहने अडान राख्नु भएको हो ।
सांसद हमालले सभामुख डोलप्रसाद अर्याललाई आफूहरुको यो विरोधको शैलीलाई परिवर्तन गर्नुपर्ने हो कि यसरी नै जारी राख्ने हो ? भनि प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो,‘हामीले माग गरिरहेका छौँ प्रधानमन्त्रीले बोलेका कुराहरु फिर्ता लिनुस् । र माफी माग्नुस । त्यतिमात्रै होइन सभामुख महोदय । हामीले भनिरहेका छौँ यो संसदको रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाईयोस । यतिका दिन भईसक्यो । सभामुखज्यूसँग हामीले कुराकानी पनि ग¥यौै । तर प्रतिफल अपेक्षित आएको छैन । त्यसैले गर्दा हामीले विरोध जारी राख्नु परेको छ । हामीले विरोधको यो रुप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो ? सभामुखले यथाशिघ्र यसको सम्बन्धमा हामीलाई जानकारी दिनु प¥यो, रुलिङ गर्नुप¥यो । हाम्रा परराष्ट्रमन्त्रीजी चीनको मैत्रीपूर्ण भ्रमणमा हुनुहुनछ । हामी विश्वास गर्दछौँ–उहाँले दुई देशबीचको सम्बन्धलाई प्रगाढ रुपमा अघि बढाउनका लागि मद्दत गर्नु हुनेछ ।’
सांसद हमालले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभयो ।












