काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेनद्र साहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकका क्रममा उहाँले सीमा क्षेत्रमा हुने डुबान, भूमिहीनका समस्या र माईतीघरमा जारी आन्दोलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । सांसद राईले रौतहटको गौर नजिकै भारतले लाल बकैया र वागमती नदीमा उच्च बाँध निर्माण गरेका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्टिङ आएको बताउनु भयो ।
भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउँदै उहाँले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी दिनुभयो । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु न्यायपूर्ण नभएको उहाँको तर्क थियो ।
त्यसैगरी, उहाँले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गाको प्रसङ्ग पनि उठाउनु भयो । ६६ वर्षदेखि बसोबास गरिरहेका स्थानीयले अझै लालपुर्जा नपाएको र अहिले नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दुःख दिने काम भइरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले यस विषयमा सत्यतथ्य छानबिन गर्न माग गर्दै भन्नुभयो, ‘हाम्रो भूभाग डुबानमा पारेर छिमेकीको रक्षा गर्ने खालका सम्झौताहरू राष्ट्रघाती हुन्, यसबारे सरकारले गम्भीर भएर आवश्यक कदम चालोस् ।’
सांसद राईले माइतीघर मण्डलामा विभिन्न माग राखेर लामो समयदेखि धर्नामा बसेका नागरिकहरूको मुद्दा सम्बोधन गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले सरकारले आन्दोलनकारीका मागप्रति चासो देखाई तत्काल न्याय दिनुपर्ने माग गर्नुभयो । सम्बोधनको अन्त्यमा सांसद राईले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्ति सच्याउने र जनसरोकारका यी मुद्दाहरूमा सरकारले ठोस कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो ।












