काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनका लागि कानून नै बाधक रहेको टिप्पणी गर्नु भएको छ ।
मंगलवार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गतको विभिन्न मन्त्रालयको शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट कार्यान्वयन हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
अध्यक्ष राईले सरकारले विनियोजन गरेको बजेटमा हिसावनै नमिलेको त्रुटी पनि आफूले पाएको बताउनु भयो । उहाँले बजेट विगतमा जस्तो कार्यान्वयन नहुने अवस्थाको सरकारले अन्त्य गर्नुपर्ने पनि बताउनु भयो ।
अध्यक्ष राईले भन्नुभयो,‘हामीले बजेट बनाउँछौ । तर त्यसको कार्यान्वयनका लागि यति धेर समय लाग्छ ठेक्कापटा, वनको कानून, यताउताले गर्दा खेरी । मैले कानूनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिए–यो सरकारले बजेट कार्यान्वयनका लागि सहज बनाउनु पर्दछ । त्यसका लागि आवश्यक कानूनी चिरफार गर्नुपर्दछ । अन्यथा हामीले बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाई हिँड्नुपर्दछ ।’
अध्यक्ष राईले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा पनि जोड दिनुभयो ।












