२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख पद रिक्त हुँदा पाँचवटा विधेयक प्रमाणीकरण हुन सकेन



अ+ अ-

काठमाडौँ । सभामुख पद रिक्त हुँदा सङ्घीय संसद्को चौथो अधिवेशनबाट पारित भएका पाँचवटा विधेयक प्रमाणीकरण हुन सकेका छैनन् । सभामुखले प्रमाणीकरण गरेपछि मात्र विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक प्रावधान छ । विधेयक पारितपछिका प्राविधिक काम भइरहेकै बेला सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रमाणीकरणको प्रक्रिया अगाडि नबढेको हो । जबर्जस्ती करणी अभियोग लागेपछि सभामुख महराले राजीनामा दिएका थिए ।

सङ्घीय संसद् सचिवालयका अनुसार पाँचवटा विधेयक प्रमाणीकरण भएका छैनन् । जसमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्नेसम्बन्धी विधेयक, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको सुपरिवेक्षण तथा सञ्चालनसम्बन्धी दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण भएका छैनन् । यस्तै चौथो अधिवेशनबाट पारित भएका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक, औद्योगिक व्यवसाय विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक प्रमाणीकरण भएका छैनन् ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले संवैधानिक व्यवस्थाअनुसार विधेयक पारितपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पेस हुनुपर्नेछ तर सभामुखबाट प्रमाणीकरण नभएका कारण ती विधेयक रोकिएका हुन् । “राष्ट्रपतिसमक्ष पेस गर्नुअघि प्रमाणीकरण गर्नुपर्ने हुन्छ तर प्रमाणीकरण हुन सकेको छैन । सभामुखले प्रमाणीकरण गरेर पठाउने अवस्था नहुँदा विधेयक राष्ट्रपतिसमक्ष पेस नभएका हुन्,” योगीले भने ।

यस्तो छ व्यवस्था
संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको व्यवस्था छ । संविधानअनुसार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेस गर्नु पर्नेछ । अर्थ विधेयकको हकमा भने अर्थ विधेयक हो भनी सभामुखले प्रमाणित गर्नु पर्नेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना प्राप्त भएपछि सभामुखले सो सूचना बैठकमा पढेर सुनाउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ । अधिवेशन चालू नभएको अवस्थामा त्यस्तो सूचना सचिवले सभाको सूचनापत्रमा प्रकाशन गराई सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । गोरखापत्र दैनिकबाट