कोलम्बो, असार ९ गते । पछिल्लो समयमा लामखुट्टेबाट हुने डेङ्गु ज्वरोको फैलावटमा बृद्धि भएपछि यसलाई नियन्त्रण गर्नका लागि सेना तैनाथ गरिरहेको श्रीलङ्काकाका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।
अधिकारीहरुका अनुसार अस्पतालमा दैनिक एक हजारभन्दा बढी विरामी डेङ्गु सङ्क्रमणका कारण भर्ना हुन आउने गरेका छन् ।
श्रीलङ्काकाका राष्ट्रपति अनुरा कुमार दिस्सानायकेको कार्यालयले श्रीलङ्काका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थल पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रियरुपमा सहभागी हुने बताएको छ ।
डेङ्गुले उच्च ज्वरो आउने टाउको दुख्ने, बान्ता हुने मांसपेशी दुख्ने र विरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव भइ मृत्युको कारण बन्न सक्ने जनाइएको छ ।
यस वर्ष लगभग डेङ्गुका ५० हजार केस रिपोर्ट गरिएकोमा २९ जनाको मृत्यु भएको छ । यसअघि सन् २०१७ मा एक लाख ८६ हजार जना व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि गरिएकोमा ४४० जनाको मृत्यु भएको थियो । डेङ्गू फैलाउने एडिस लामखुट्टे–यसको कालो र सेतो धारीदार खुट्टाद्वारा पहिचान गर्न सकिने र यसले स्थिर पोखरीमा प्रजनन गर्ने जनाइएको छ ।
“विशेष सैन्य एकाई स्थापना गरी आफ्नो परिसरमा लामखुट्टे प्रजनन गर्न सक्ने अवस्था सिर्जना गर्नेविरुद्ध पनि कानुन कडाइका साथ लागु गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रजनन स्थल सफा गरी डेङ्गु सङ्क्रमण नियन्त्रण गर्ने राष्ट्रव्यापी अभियान बुधवारदेखि सुरु गरिने जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जलवायु परिवर्तनका कारण डेङ्गु तथा अन्य लामखुट्टे जन्य भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ ।
श्रीलङ्कामा जुन महिनाको सुरुदेखि डेङ्गुको सङ्क्रमणमा वृद्धि भएको देखिएको जनाइएको छ भने यस हप्तामा एकै दिनमा एक हजारभन्दा बढी सङ्क्रमण वृद्धि भएको रिपोर्ट गरिएको आधिकारिक तथ्याङ्कले जनाएको छ । सरकारबाट परिचालित डेङ्गु नियन्त्रण युनिटले राज्य र निजी अस्पतालले थप वृद्धि नियन्त्रण गर्न नसक्ने अवस्था रहेको बताइएको छ ।
कोलम्बोमा पत्रकारसँगको साक्षात्कारमा बोल्दै डेङ्गु नियन्त्रण युनिटकी प्रमुख कपिला कन्नङ्गाराले अस्पताल यसअघिदेखि नै दबाबमा रहेको बताउनुभएको छ ।
मनसुनी वर्षापछि आएको बाढीका कारण जमेको पानी र अव्यवस्थितरूपमा फ्याँकिएको फोहोरले लामखुट्टेको द्रुत फैलावटका लागि उपयुक्त अवस्था सिर्जना गरेको जनाइएको छ । रासस/एएफपी












