११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुनामा पक्की नाला निर्माण



अ+ अ-

म्याग्दी। धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ ।

सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ ।

भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरहरुबाट निस्कने फोहर पानी र बर्खा याममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित निकासका लागि पक्की नाला निर्माण गरिएको धौलागिरि–३ का वडाध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।

“बर्खामा पाखामा बग्ने पानीले गाउँलाई असुरक्षित र घरबाट निस्कने ढलका कारण फोहर व्यवस्थापनमा चुनौती थियो”, उहाँले भन्नुभयो “मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले पक्की नाला निर्माण गरिएको हो ।”

मुनामा करिब ३०० घरपरिवारको बसोबास रहेको छ । उक्त योजना निर्माणका लागि गत माघ २५ गते निर्माण कम्पनीले रु ६० लाख ७८ हजार ७४७ मा ठेक्का सम्झौता गरेको थियो ।

योजनामार्फत ९८९ मिटर लामो पक्की नहर निर्माण भएको वडाध्यक्ष रोकाले जानकारी दिनुभयो । यही असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यअघिनै सम्पन्न भएको उहाँले बताउनुभयो ।

स्थानीयवासी नन्दप्रसाद पुनले पक्की नाला बनेपछि बस्ती सुरक्षित र सुन्दर भएको बताउनुभयो । घरभित्र बाढी पस्ने र फोहर हुने समस्या हटेको अर्का स्थानीयवासी मुमबहादुर पुनले बताउनुभयो ।

यस वर्ष धौलागिरि गाउँपालिकाको गुर्जाका साथै वडा नम्बर १ को गुर्जामा पनि ढल व्यवस्थापन योजना निर्माण भएको छ । गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामार्फत रु २२ लाख ९९ हजारको लागतमा २६० मिटर पक्की नाला निर्माण भएको छ ।

गत वर्ष वडा नम्बर ४ मुदीमा ढल व्यवस्थापन आयोजना सञ्चालन भएको थियो । सङ्घीय विशेष अनुदानको बजेटबाट मुदीमा रु ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरी ४०० मिटर पक्की नहर निर्माण भएको थियो ।

आगामी वर्ष वडा नम्बर ७ ताकममा ढल व्यवस्थापनका लागि सङ्घीय सरकारबाट प्राप्त भएको रु एक करोड बजेट विनियोजन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । रासस