११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङका पाँच पालिकाले ल्याए बजेट



अ+ अ-

मुस्ताङ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मुस्ताङका पाँच पालिकाले रु एक अर्ब ९० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् ।

प्रस्तुत गरिएकोमध्ये सबैभन्दा बढी थासाङ गाउँपालिकाले रु ४३ करोड ६० लाख २२ हजार र सबैभन्दा कम लोघेकर दामोदरकुण्ड गाउँपालिकाले रु ३४ करोड १६ लाख ६४ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

हिमाली जिल्ला मुस्ताङका पाँचै पालिकाले बुधबारसम्म गाउँसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका हुन् । मुस्ताङ सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकाले आगामी आवका लागि रु ३९ करोड १४ लाख ९४ हजारको बजेट सार्वजनिक गरेको हो ।

उपाध्यक्ष जमुना थकालीद्वारा सार्वजनिक बजेटमा चालुतर्फ ६९ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फ ३० दशमदव ३१ प्रतिशत बजेट विनियोजन भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले रु ३६ करोड ६५ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ ।

उपाध्यक्ष छ्युमी विष्टले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ४९ दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ५० दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङले रु ३७ करोड ४३ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गर्दै चालुतर्फ ५९ दशमलव ३९ प्रतिशत र पुँजीगततर्फ ४० दशमलव ६१ प्रतिशत रकम सार्वजनिक गर्नुभयो ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले रु ३४ करोड १६ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ४० प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत रकम विनियोजन भएको हो ।

मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाले सबैभन्दा बढी रु ४३ करोड ६० लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

उपाध्यक्ष सोमल हीराचनले प्रस्तुत गर्नुभएको बजेटमा चालु र पुँजीगततर्फ समान ५० प्रतिशत रकम विनियोजन भएको गाउँपालिकाले उल्लेख गरेको छ ।

मुस्ताङका पाँच स्थानीय तहले प्रस्तुत गरेका बजेटमा पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई केन्द्रमा राखिएको छ । रासस