१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा



अ+ अ-

काठमाडौँ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ स्थित तेन्छोङमा अविरल वर्षापछि गएको पहिरोका कारण एक स्वास्थ्यचौकीसहित २८ घरपरिवार विस्थापित भएका छन्। बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने क्षेत्रमा थप जोखिम बढेको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो र माथिल्लो तेन्छोङका गरी २८ घरपरिवार विस्थापित भएका हुन्। तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई र विन्दुर राईको घर पहिरोका कारण प्रभावित भएको प्रहरीले जनाएको छ।

यस्तै, सिलिचोङ–१ का कुन्ती राईका पाँच, धनपूर्ण राईका सात, मङ्गलबहादुर राईका छ, सुकप्रसाद राईका चार, मीरा राईका पाँच र धनमान राईका तीन सदस्य रहेको परिवार पनि विस्थापित भएका छन्।

पहिरोका कारण तेन्छोङस्थित सामुदायिक स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ। बस्तीमाथिको जमिन चिरा परेपछि सिसुवा प्रहरी चौकी र गाउँपालिकाको समन्वयमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय टोली सोमबार घटनास्थल पुगेको थियो।

सिलिचोङ गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोगको माग गरिएको जानकारी दिए।

यसैबीच, पहिरो र बाढीले सिलिचोङका दुई लघुजलविद्युत् आयोजना क्षतिग्रस्त हुँदा गाउँका ६०० भन्दा बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका छन्। सिसुवाखोलामा रहेको ६० किलोवाट क्षमताको सिसुवाखोला लघुजलविद्युत् आयोजना र ३० किलोवाट क्षमताको चटेक्मा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको अध्यक्ष मेवाहाङले बताए।

सिसुवाखोलामा आएको बाढीले दुई विद्यालयमा पनि क्षति पुर्‍याएपछि पठनपाठन बन्द गरिएको छ। पहिरोको जोखिम निरन्तर बढ्दै गएपछि धेरै स्थानीयवासी आफन्त तथा सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन्।