२० असार २०८३, शनिबार
,
Latest
दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार



अ+ अ-

काठमाडौँ। सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई सूचीकृत गर्दै बृहत् विकास गर्ने उद्देश्यका साथ प्रक्रिया अगाडि बढाएको छ ।

वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पारेको छ ।

मन्त्रिपरिषद्को गत चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई एक महिनाभित्र ऊर्जा निर्यात रणनीति तयार गर्न  र ‘पिक’ समयको विद्युत् निर्यातलाई उच्च मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाउने उल्लेख थियो ।

सोही कार्ययोजनाअनुसार गत वैशाख १० गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा विद्युत्को आन्तरिक खपत वृद्धि र विद्युत् निर्यातका स्पष्ट खाकाहरू समेट्न कार्यादेश दिइएको छ ।

शासकीय सुधारको बुँदा नं ७४ (क) मा समावेश भएको उक्त विषय सम्बोधन गर्न सहसचिव देव संयोजकत्वको समितिले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको मुख्य संवाहकका रूपमा महत्त्व दिएको थियो ।

सो रणनीतिको मूल आधार आन्तरिक विद्युत् खपतमा उल्लेख्य वृद्धि गर्दै घरायसी भान्साबाट एलपी ग्यास विस्थापन गर्ने, सार्वजनिक तथा निजी क्षेत्रमा विद्युतीय सवारीलाई प्राथमिकता दिने उल्लेख छ । उद्योगमा प्रयोग हुने खनिज इन्धनलाई विद्युतीय प्रणालीले प्रतिस्थापन गर्ने रहेको छ ।

विद्युत् महसुललाई उपभोक्तामैत्री बनाउने र वितरण प्रणालीलाई आधुुनिक ‘स्मार्ट ग्रिड’मा रूपान्तरण गर्ने सोचका साथै सुरक्षाका लागि जलाशययुक्त आयोजनाको हिस्सा बनाउने उल्लेख छ । राष्ट्रिय प्रसारण प्रणालीलाई देशव्यापी विस्तार गर्ने लक्ष्य लिइएको थियो ।

सो रणनीतिमा प्रतिव्यक्ति विद्युत् खपत बढाउने र कुल जडित क्षमतामा समेत उल्लेख्य वृद्धि गर्ने विषयलाई महत्त्वका साथ समावेश गरिएको छ । हाल विद्युत्को प्रतिव्यक्ति खपत ४५० किलोवाट घण्टा बराबर पुगेको छ ।

सन् २०३५ सम्म एक हजार ५०० किलोवाट घण्टा बराबर पुर्‍याउने लक्ष्य राखिएको छ । अधिकभन्दा अधिक विद्युत् खपत गर्ने गरी खाना पकाउने ग्यासको प्रतिस्थापन गर्ने उद्देश्य राखिएको छ ।

विद्युतीय चुल्होको प्रयोग बढाउने त्यसका लागि नीतिगत तथा अन्य प्रबन्ध गर्ने, देशभर विद्युतीय सवारीसाधनको प्रयोग बढाउनका लागि ‘चार्जिङ स्टेसन’ निर्माणलाई तीव्र गति दिने लक्ष्य राखिएको छ ।

यस्तै, सन् २०३५ सम्म मुलुकको  कुल जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखिएको छ । हाल मुलुकको जडित क्षमता चार हजार २४२ मेगावाट बराबर पुगेको छ ।

सरकारले आन्तरिक खपत करिब १३ हजार ५०० मेगावाट बराबर पुर्‍याउने योजना छ । यस्तै, भारत र बङ्गलादेशमा कुल १५ हजार मेगावाट बराबरको विद्युत् निर्यात क्षमता  विकास गरी द्विपक्षीय र उपक्षेत्रीय बजारमा नेपालको उपस्थिति पुर्‍याउने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, हाल १९ हजार ६२३ मेगावाट घण्टा बराबरको बिजुली भारत र बङ्गलादेश निर्यात भइरहेको छ ।

नेपाललाई  विश्वसनीय स्वच्छ ऊर्जा आपूर्तिकर्ताका रूपमा स्थापित गर्न ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ तयार गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्ट पारेको छ । ऊर्जा उत्पादनतर्फ थप १३८ मेगावाट क्षमता वृद्धि भएको छ । यस्तै, ४७२ गिगावाट घण्टा बराबर विद्युत् निर्यात गरिएको छ ।

यस अवधिमा सिँचाइ तथा नदी व्यवस्थापनतर्फ थप दुई हजार ९४८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्नुका साथै ३७ दशमलव पाँच किलोमिटर तटबन्ध निर्माण गरी १४९ हेक्टर जग्गा उकास गरिएको छ ।

ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि २८ हजार वटा विद्युतीय चुलो र १३ हजार ४४२ किलोवाट बराबरको रूफटप सौर्य प्रणाली जडान गरिएको छ ।

राष्ट्रिय गौरवका आयोजना र ‘नेसनल स्ट्रक्चर्ड प्रोजेक्ट पाइपलाइन’ को अवधारणाअनुरूप बबई र सुनकोशी–मरिन जस्ता परियोजनाको कार्यान्वयनलाई तीव्रता दिँदै पूर्वाधार विकासमा जोड दिइएको छ । लगानी प्रवर्द्धन र एकद्वार सेवालाई विस्तार गरिएको छ । रासस